काठमाडौं- विराज महर्जन नेपाली फुटबलमा लामो समय केन्द्रमा रहे। राष्ट्रिय टिमको कप्तानका रुपमा र उत्कृष्ट डिफेन्डरका रुपमा पनि। विराजले नेपाली फुटबलमा पाएका उपलब्धीले पनि उनी चर्चामा रहिरहे।
कोरोना भाइरस (कोभिड १९) कारण लामो समयको लकडाउनले अहिले हरेकको दिनचर्या फेरिएको छ। बाध्यताले सिर्जित यो परिस्थितिबाट विराज पनि जानकार छँदै छन्। नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान तथा लिग विजेता मछिन्द्र क्लबका कप्तान विराज अहिलेको परिस्थिति मानव कालखण्डकै घातक समय भएको बताउँछन्।
विराज उनै हुन्, जसले नेपाललाई बंगबन्धु गोल्डकप, १२ औं साग खेलकुदमा स्वर्ण पदक र एएफसी सोलिडारी कपमा आफ्नै कप्तानीमा नेपाललाई उपाधि दिलाए। एन्फा एकेडेमीका उत्पादक विराज आफूलाई भाग्यमानी मान्छन् र भन्छन्, ‘मलाई कप्तानी भूमिका फाप्छ।’
हुन पनि विराजले ए डिभिजन लिगको उपाधि तीन फरक क्लबबाट जितेका छन्। २०६९ सालमा थ्रीस्टारबाट सहिद स्मारक ए डिभिजन लिग जित्दा बेष्ट डिफेन्डर बने। त्यसपछि मनाङ मर्स्याङ्दी क्लबबाट व्यावसायिक खेल खेलेका उनले आफ्नै कप्तानीमा २०७५ को ए डिभिजन लिग जिताए।
यो उपाधि यात्रा यतिमै सीमित भएन। २०७६ को ए डिभिजन लिग पहिलो पटक मछिन्द्र क्लबले जित्दा कप्तानी भूमिकामा उनै विराज थिए। मोफसलका र अन्य प्रतियोगिताका उपाधि आफू आबद्ध क्लबलाई कति दिलाए कति।
एक सफल खेलाडी जो अहिले कोरोना भाइरसले निम्त्याएको लक डाउनबाट पिरोलिएका छन्। आफ्नो खेल जीवनको उत्तरार्धतिर पुगेका विराजलाई फिटनेसको चिन्ता छ। भन्छन्, ‘कोरोनाको अन्त्यपछि कुनै प्रतियोगिता खेल्नु पर्दा हामीसँग पुरानै फिटनेस भएन भने के गर्ने?’
उनै विराज महर्जनसँग खेल जीवनसहित अन्य पाटाहरु र कोरोना भाइरसले नित्याएको संकटका बारेमा गरिएको कुराकानी-
कसरी बितिरहेको छ दिनहरु?
घरभित्र नै छु। बाहिर निस्केको छैन। समाचार हेर्ने बस्ने। फिल्म पनि हेर्छु। सामाजिक सञ्जाल चलायो। यही त हो। तर दिनहरु एकदमै झ्याउलाग्दो छ।
पहिलेको भन्दा लकडाउन पछि दिनचर्या धेरै नै फेरियो?
धेरै फेरिएको छ नि। बिहान अभ्यास जानेदेखि धेरै कामहरु हुन्थ्यो। एकदमै ब्यस्त भइन्थ्यो। तर अहिले त एक हिसाबले भन्नु पर्दा पूरै फुर्सद। साधारण दिन जस्तो छैन अहिले। पूरै फुर्सदमा तर केही गर्न नपाइने अवस्था छ अहिले। हल्का आफै अभ्यास गर्यो। खायो बस्यो सुत्यो।
मोटाउनु भएको होला नी?
छैन। त्यही त अचम्मको कुरा। घरमा मेरो दाइ, भाउजु, काका, काकी सबैले तौल बढ्यो भन्नु हुन्छ। तर म चाहिँ जस्ताको त्यस्तै छु। अस्ति मात्र तौलिएको थिएँ त्यति नै रहेछु।
लकडाउनले तपाईंको परिवार र नातेदारमा कुनै समस्या त आएको छैन?
छ नि, दैनिक रुपमा गर्दै आएको कामहरु गर्न पाइएको छैन। हामी सम्पन्न परिवारका मान्छे होइनौं। त्यसैले समस्या त आइहाल्छ नि होइन र? घरमा भएको खाद्यान्न सकिँदै गएपछि बजारबाट हत्तपत्त ल्याउन मुस्किल छ। समस्या त आइहाल्छ नी। लकडाउनले काठमाडौं पूरै सुनसान भयो। होहल्लाको शहर एकाएक सुनसान हुँदा एक हिसाबले रमाइलो पनि हुँदो त रहेछ। तर कोरोनालाई भुल्ने हो भने।
नेपालमा पनि कोरोनाको संक्रमणको जोखिम कम भएको छैन, यस्तोमा डर चाहिँ कत्तिको हुँदो रहेछ?
डर त लागिहाल्छ नि। फ्रान्स, स्पेन, अमेरिका लगायतका देशहरुको समाचार हेर्दा भयानक अवस्था लाग्छ। कोरोनालाई हामीले साधारण तरिकाले लिनु पनि हुँदैन। संसारमै महामारीको रुप लिइरहेको बेला यो भाइरसबाट हामी डराउनु पनि पर्छ र सजग पनि हुनुपर्छ। दिनदिनै समाचारहरु हेरिरहेको हुन्छु। लाखौंमा फैलिसकेको छ। दुई लाखभन्दा बढीको ज्यान लिइसकेको छ। त्यसैले मलाई चाहिँ डर पनि लाग्छ।
कोरोनाबाट सुरक्षित रहन तपाईंले के कस्ता सावधानी अपनाउनु भएको छ?
मैले सेनिटाइजर प्रयोग गरिरहेको हुन्छु। खाना खानु अघिपछि, म बाहिर अथवा कतै गएर आएँ भने साबुनपानीले हात धोइरहेको हुन्छु। अपनाउनु पर्ने सावधानीहरु सरकारले जति पनि देखाइरहेको छ त्यो मैले अपनाइरहेको छु। घरबाट हामी बाहिर निस्किएका पनि छैनौं।
फुटबलमा लाग्नुभएपछि परिवारसँग यति धेरै समय बिताउने अवसर पक्कै पाउनु भएको थिएन, परिवारमा चाहिँ कस्तो कुरा हुन्छ अहिले?
त्यही हो, हरेक समय म परिवारसँगै हुन्छु। बिहानदेखि बेलुकासम्म सँगै खान्छौँ, बस्छौँ। पहिले यस्तो मौका कमै मात्रामा मिलेको थियो।
देश विदेशमा के कस्ता घटना भए? कहाँ के हुँदै छ? भनेर बाबुआमा र दाइसँग कुराकानी हुन्छ। त्यसबाहेकका अन्य घरायसी कुराहरुमै बित्छ दिनहरु।
साथीभाइ तथा टिमका खेलाडीहरुसँग कत्तिको कुराकानी भइरहेको छ?
हुन्छ। के कस्तो भइरहेको छ दाइ भनेर भाइहरुले फोन गरिरहेका हुन्छन्। फेसबुक र इन्स्टाग्राममा साथीभाइहरुसँग कुराकानी भइरहेको हुन्छ।
कुरा त त्यही त हो, सावधान भएर बस्नु भन्ने कुराहरु भइरहन्छ। मलाई जानकारीमा भएसम्म अहिलेसम्म कुनै खेलाडी साथीहरुमा त्यस्तो समस्या आइपरेको छैन। त्यस्तो समस्या नै आइहालेमा एन्फाले सहयोग गर्ने भनेको छ।
लामो समयसम्म लागेको लकडाउनले फिटनेसमा चाहिँ कतिको समस्या ल्याउँछ?
एकदमै समस्या हुन्छ। एक महिनाभन्दा बढी भइसक्यो लकडाउन भएको। कोरोनाले विकाराल रुप झनै लिइरहेको छ। सबैले नियमित अभ्यास गर्न पाइरहेका छैनन्। सबैले आफै घरैमा अभ्यास गर्नु परेको अवस्था छ।
आफैले नियमित अभ्यास गरे पनि मैदानमै अभ्यास गरेको जस्तो कहाँ हुन्छ र। मोटाउने, अल्छि लाग्नेदेखि हरेक कुरामा समस्या आउँछ नै।
यो कोरोना भाइरस सधैं त रहिरहँदैन। एकदिन यसको पनि अन्त्य हुन्छ। त्यसपछि हामी अभ्यासमा फर्किंदा अथवा कुनै प्रतियोगिताको लागि तयारी थाल्दा पुरानै लयमा फर्किन गाह्रो हुनेछ। किनभने पुरानै फिटनेस हामीसँग रहिरहँदैन।
त्यही भएर पनि अहिले नै हामीले अल्छि नमानी घरैमा भए पनि अभ्यास गर्नै पर्छ। अहिले खेलाडीको लागि चिन्ताको विषय नै फिटनेस हो।
तपाईं नेपाली फुटबल टिमका कप्तान हुँदा नेपालले उपाधि जित्यो, क्लबमा पनि त्यस्तै भयो जहाँ गए पनि उपाधि। तपाईंलाई सफल र भाग्यमानी कप्तान भन्न मिल्छ?
मलाई चाहिँ भगवानले पनि साथ दिएको छ। जहाँ गए पनि जित मेरै पक्षमा हुन्छ। म भाग्यमानी भन्दा पनि मेरो टिमका सबै साथीहरुको अथक मेहेनतको प्रतिफल भन्न रुचाउँछु।
सबैको कुरा सुन्छु, अरुले पनि मलाई लक्की कप्तान भन्दा रहेछन्। एक पटक होइन दुई पटक होइन। जताको कप्तान हुन्छु केही न केही सफलता मिलेकै हुन्छ। त्यसैले गर्दा मलाई कप्तानी भूमिका चाहिँ फापेको पो हो की जस्तो लाग्छ। त्यही सोच्छु पनि।
सानैदेखि फुटबलमा लागियो। कहिले पनि अभ्यासमा ठगिएन। सकारात्मक कुराहरु सोच्दै गएँ। त्यही भएर पनि मलाई भगवानले साथ दिएको जस्तो लाग्छ।
तपाईंले फुटबल जीवनलाई अघि बढाउनु भएको पनि लामो समय भयो र सफल पनि। अहिले त्यसको उत्तरार्धतिर हुनुहुन्छ। अबका दिनमा केही योजना छ?
सिनियर दाइहरुले पनि भोग्नु भएकै हो। मैले पनि एकदिन खेलाडी जीवनबाट बिदा हुनै पर्छ। यो सबैको पालो आउँछ एकदिन।
म पूरै मानसिक रुपमा तयार भएर बसेको मान्छे हो। दुःख त लागिहाल्छ, आफूले खेलिरहेको स्थान र कप्तानी छोड्दा। तर त्यो कुरा भन्दा पनि आफूले आफूलाई सम्हालेर कसरी अगाडि बढ्ने? भन्ने कुरा मुख्य हो।
एउटा खेलाडीले सधैं खेलिरहन सक्दैन। उ एकदिन न एकदिन बिदा हुनै पर्छ। म पनि बिदा हुन्छु नै। खेलपछिको पनि आफ्नो जिन्दगी छ। कर्तब्यहरु छन्। त्यो कसरी बहन गर्ने भन्ने कुरामा म अगाडिदेखि नै तयार भएर बसेको छु। मैले खेलाडी जीवनपछि के गर्ने भनेर सोचिसकेको छु।
खेलाडी जीवनपछि के गर्ने योजनामा हुनुहुन्छ त?
नेपालमै म रहिरहेँ भने फुटबलसँगै जोडिएर बस्छु। अब आउने भाइहरुलाई प्रतिभाशाली बनाउनतर्फ लाग्छु। के कसरी हुन्छ फुटबल विकास मै लाग्छु।
अर्को कुरा मलाई परिवारको पूर्णरुपमा साथ छ। परिवारको साथ भएको हुँदा डर छैन। अहिले पनि म क्लबबाट खेलिरहेको छु। यो मैले भनिरहेको कुरा खेल्न छोडेपछिको हो।
यति वर्ष खेल्छु, त्यसपछि सन्यास लिन्छु भन्ने त छैन? खेल्दै जाउँ फिटनेसले कहिलेसम्म साथ दिन्छ भन्ने नै हो?
हजुर। हामी खेलाडी कस्तो हुन्छौं भने झट्ट छोड्न कहिल्यै सक्दैनौं। अब त्यो सबै कुराको समय आउँछ। खेल्दै जाउँ हेर्दै जाउँ।
सम्पूर्ण नेपाली फुटबल प्रेमीलाई खुशीको वातारवरण दिएर चाहिँ ‘सेफ ल्यान्डिङ’ गर्ने ठूलो रहर छ। फुटबल मै लागिरहुँ। जे हुन्छ भोलिका दिनमा अगाडि बढ्ने छु।
फुटबल जीवनमा त ‘सेफ ल्यान्डिङ’ गर्दै दोस्रो इनिङ्स थाल्ने योजनामा हुनुहुन्छ। तर जिन्दगीकै दोस्रो इनिङ्समा चाहिँ कहिले प्रवेश गर्नु हुन्छ? मैले अलिकति जोड्न खोजेको चाहिँ विवाह बन्धनको...
तपाईंले भन्नु भएको एकदम सही हो। बाबुआमालाई पनि साथ दिनुपर्छ। मेरो प्रेमिका पनि अहिले बाहिरी देशमा हुनुहुन्छ। उहाँ पनि अब चाँडै नै स्वदेश फर्किर्दै हुनुहुन्छ। अब उहाँ आएपछि चाहिँ मेरो जिन्दगीको दोस्रो इनिङ्स सुरु हुनेछ। बिहे गरेर जिन्दगीको अर्को लक्ष्यलाई अगाडि बढाउने योजना छ। यो कुरा चाहिँ प्रेमिका आएपछि सबैलाई ढुक्कसाथ भन्नेछु ल?
यो कोरोना भाइरसले गर्दा चाहिँ वैवाहिक बन्धनलाई अलिक पर सारिएको पो हो कि?
हा..हा.. हा..। कोरोनाले त सबै लगन भएका मान्छेहरुको विवाह सर्यो होइन र? मेरो चाहिँ सरेको होइन है। अब उहाँ (प्रेमिका) दसैँमा आउँदै हुनुहुन्छ। त्यसपछि चाहिँ योजना गर्ने हो।
अन्त्यमा भन्न मन भएका केही कुरा पो छुट्यो कि,
कोरोनाको यो महामारीमा सबै सचेत भएर बस्नु होला। विश्वमै कोरोनाले ठूलो जनधनको क्षति गरेको छ। यसबाट हामीले पाठ सिक्नु पर्छ।
कोरोना संक्रमितहरुलाई म के भन्न चाहन्छु भने, नआतिनुहोस्। हामी डराएर भाग्नु भन्दा पनि हामी सबै एकजुट भएर यो विपतको बेला अघि बढ्नु पर्छ।
आफ्नो परिवार समुदाय र देशलाई योगदान पुग्ने कार्यहरु गरौं। कोरोनाबाट बच्नका लागि अपनाउनु पर्ने सावधानीहरु अपनाऔँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।