काठमाडौं- इटालियन सिरि ए टिमका खेलाडीहरुलाई मे ४ तारिखदेखि व्यक्तिगत रुपमा फुटबल अभ्यास गर्न दिइने भएको छ। यसका साथै मे १८ देखि टिमहरुको सामूहिक अभ्यास पनि सुरु हुनेछ।
इटालिका प्रधानमन्त्रीले लकडाउन खुकुलो बनाउँदै लैजाने र पुरानो अवस्थामा फर्कने प्रयास गरेसँगै फुटबल क्लबहरुका लागि पनि केही खुकुलो नियमहरु लागु गरिएको हो। यसैले रोकिएका सिरि ए का खेलहरु पनि २७ मे देखि २ जुनसम्ममा सुरु गर्ने र अगस्टमा सकाउने तयारी पनि गरिएको छ।
तर पनि सिरि ए पुनः सुरु हुने यकिन मिति भने तोकिएको छैन। कोरोना भाइरस (कोभिड १९) को अवस्था आउँदो दिनमा कस्तो हुनेछ भन्नेमा नै अगाडिको योजना तय हुनेछ।
युरोपमा कोरोना भाइरसले सबैभन्दा बढी असर गरेको इटालीमा नै हो। १४ मार्चपछिको अवस्थालाई हेर्दा आइतबार भने सबैभन्दा कम २ सय ६० जनाको मृत्यु भएको थियो।
सिरि ए ९ मार्चदेखि रोकिएको हो। केही खेलाडीमा नै कोरोना भाइरसको संक्रमण देखिए पछि सबैलाई सेल्फ क्वारेन्टाइनमा राखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।