कैलाली- कैलालीको गौरीगंगा नगरपालिका-३ मा लकडाउनको फाइदा उठाउँदै खयर कटान गरिएको छ। शिवगंगा सामुदायिक वनमा चार वटा खयरका रुख काटेर लुकाएर राखेको अवस्थामा भेटिएपछि यो घटना बाहिर आएको हो। स्थानीयवासीले खयरका ४४ गोलिया काठ फेला पारेका छन्।
खयर कटानमा डिभिजन वन कार्यालय कैलालीमा कार्यरत चालक लालबहादुर चौधरी पनि संलग्न रहेको स्थानीयको आरोप छ।
हाल धनगढीमा रहेका चालक चौधरी र उनका दाजु वासु चौधरीलगायतले केही दिनअघि खयरका रुख काटेको दाबी स्थानीयको छ। खयरका गोलिया चालक चौधरीको खेतबारीमा भेटिएका थिए।
ती काठमध्ये ३८ गोलिया चोरी हुने सम्भावना भएपछि सामुदायिक वनमा राखिएको छ। सामुदायिक वनका अध्यक्ष कृष्णराज योगी र चौमाला सहायक वन डिभिजनका कर्मचारी निख्खु चौधरीलगायतको रोहबरमा काठ राखिएको हो।
वन डिभिजन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले आफूलाई सो विषयमा जानकारी नरहेको बताए। उनले अब चौमाला वन डिभिजनलाई परिचालन गर्ने बताए। डिभिजन प्रमुख कँडेलले लालबहादुर चौधरी नामका व्यक्ति वन डिभिजनको चालक भएको भने स्वीकार गरेका छन्। तर चौधरीले काठ तस्करीका लागि रुख कटान गरे नगरेको विषयमा अनुसन्धान थालिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।