काठमाडौं- नेदरल्याण्ड्समा २०१९-२० को फुटबल सिजन यत्तिकै स्थगित गर्न डच फुटबल एशोसियसनले छलफल सुरु गरेको छ। कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले १ सेप्टेम्बरसम्म ठूला सबै कार्यक्रम अन्त्य गर्न भनेसँगै रोकिएको सिजन यत्तिकै सकिने भएको हो।
डच लिग एर्डिभाइजमा चार क्लबले २५-२५ खेल खेलेका छन् भने बाँकी क्लबको २६ खेल पुगिसकेको छ। २५ खेल नै खेलेको आयाक्सको र एजेड अल्कामरको समान ५६ अंक रहेको छ। गोल भिन्नताका आधारमा आयाक्स शीर्ष स्थानमा रहेको छ।
डच फुटबलको प्रशासकीय निकाय केएनभिबीले सिजनका बाँकी खेल नखेल्ने तर केही निर्णयमा पुग्नुअघि युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएसँग कुराकानी गर्ने जनाएको छ। युइएफएले पनि विशेष परिस्थितिका कारण केही युरोपियन लिगहरु स्थगित गर्न सकिने जनाएको छ।
कोरोना संक्रमणकै कारण च्याम्पियन्स लिग, युरोपा लिग अनिश्चित हुनुका साथै क्लब विश्वकप जस्ता ठूला प्रतियोगिताहरु पनि सरेका छन्। प्रिमियर लिग, ला लिगा, सिरि ए, लिग वान, बुण्डेसलिगा जस्ता लिगका क्लबहरु आर्थिक संकटमा पनि परिरहेका छन्। रोकिएको सिजन कसरी सकाउने भन्नेमा दुविधा नै छ।
यस्तै युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएल आउने अगस्टसम्ममा २०१९-२० सिजनका फुटबल खेलहरु सकाउने तयारी गरिरहेको छ। त्यसका लागि नयाँ मिति र खेल तालिकामा काम गर्नका लागि युइएफएले छुट्टै समूह पनि बनाएको छ। महत्वपूर्ण प्रतियोगिताहरु दुई लेग फम्र्याटमा नै सकाउने युइएफएको योजना छ।
अहिले च्याम्पियन्स लिगसँगै युरोपा लिग फुटबल अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय भइसकेको अवस्था छ। खेलहरु स्थगित गर्ने निर्णय भएको लामो समय भइसक्दा कोरोना संकटले प्रतियोगिता अनिश्चित बनिरहेको थियो।
अहिले भने २९ अगस्टसम्म बन्द रंगशालामा भए पनि खेल गर्न सकिन्छ कि भन्नेमा युइएफए लागिरहेको छ। त्यसका लागि २३ अप्रिलमा अर्को बैठक हुँदैछ। जसमा इस्तानबुलमा २९ अगस्टमा फाइनल खेल गर्ने गरी अरु खेल अगाडि नै सकाउने योजना बनिरहेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।