काठमाडौं- युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको फुटबल सिजन सकाउने गरी छिटै योजना बनाउँदै छ। जसका लागि युइएफए आबद्ध ५५ देशका पदाधिकारीसँग मंगलबार नै भिडियो वार्ता हुने तय छ।
युइएफएले आउने अगस्टसम्ममा २०१९–२० सिजनका फुटबल खेलहरु सकाउने तयारी गरिरहेको छ। त्यसका लागि नयाँ मिति र खेल तालिकामा काम गर्नका लागि युइएफएले छुट्टै समूह पनि बनाएको छ। महत्वपूर्ण प्रतियोगिताहरु दुई लेग फम्र्याटमा नै सकाउने युइएफएको योजना छ।
अहिले च्याम्पियन्स लिगसँगै युरोपा लिग फुटबल अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय भइसकेको अवस्था छ। खेलहरु स्थगित गर्ने निर्णय भएको लामो समय भइसक्दा कोरोना संकटले प्रतियोगिता अनिश्चित बनिरहेको थियो।
अहिले भने २९ अगस्टसम्म बन्द रंगशालामा भए पनि खेल गर्न सकिन्छ कि भन्नेमा युइएफए लागिरहेको छ। त्यसका लागि २३ अप्रिलमा अर्को बैठक हुँदैछ। जसमा इस्तानबुलमा २९ अगस्टमा फाइनल खेल गर्ने गरी अरु खेल अगाडि नै सकाउने योजना बनिरहेको हो।
अहिले युरोपभर जुनसम्मका राष्ट्रिय टिमका खेलहरु पनि स्थगित गर्ने निर्णय भएको छ। युइएफएमा आबद्ध ५५ देशका सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो। इंग्लिस प्रिमियर लिगसहित युरोपका अरु ठूला लिग प्रतियोगिताहरु पनि स्थगित नै छन्।
युइएफएका अध्यक्ष अलेक्जेण्डर सेफेरिनले यसअघि नै जुनसम्म प्रतियोगिताहरु हुन सकेन भने सबै कुरा यत्तिकै सकिन सक्ने बताइसकेका थिए। यदि सिजन यत्तिकै सकाए शीर्षमा रहने टिमलाई भन्दा ठूलो असर रेलिगेसनमा रहेका टिमलाई पर्नेछ। त्योसँगै शीर्षमा पर्ने भिडन्तमा देखिएका टिमलाई पनि यत्तिकै हुने विजेता छनोटले मार पर्ने नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।