काठमाडौं– २०७३ सालको सफल फिल्म ‘जात्रा’को ‘सिक्वेल’ निमार्ण हुने भएको छ। मंगलबार फिल्मका निर्देशक प्रदिप भट्टराई र निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँ जात्राको सिक्वेलको रुपमा ‘जात्रै जात्रा’ निर्माण गर्ने निर्णयमा पुगेका हुन्।
सुरुमा फिल्मको सिक्वेलका रुपमा ‘जात्रा २’ बनाउने चर्चा चले पनि निर्देशक र निर्माताबीचको सम्झौता अनुसार ‘जात्रै जात्रा’ बनाउने निर्णय भएको फिल्मका निर्देशक प्रदिप भट्टराईले नेपाल लाइभसँग बताए।
भट्टराईका अनुसार ‘जात्रै जात्रा’ जात्रा सकिएको कथावस्तुबाटै अगाडी बढ्ने छ। त्यसैगरि फिल्ममा जात्रामा भएका कलाकारहरु विपिन कार्की, वर्षा राउतलगायत सम्पुर्ण टिम यथावत रहनुका साथै केही अन्य नयाँ कलाकारहरु थप हुने उनले बताए।
निर्देशक भट्टराईले भने,‘फिल्मको स्क्रिप्ट लेखिरहेको छु। असारको अन्तिम या श्रावणको पहिलो साताबाट छायाँकन सुरु गर्नेछौँ।’
उनले फिल्मका अन्य थप कलाकारहरुको टुङ्गो लागेसँगै औपचारिक निमार्ण घोषणा गर्ने जानकारी दिए। फिल्मलाई २०७५ फागुन १७ गतेबाट देशभरका हलहरुमा प्रदर्शनमा ल्याउने निर्माण पक्षले लक्ष लिएको छ।
भट्टराई निर्देशित फिल्म ‘शत्रु गते’ यतिबेला प्रदर्शनको तेस्रो सातामा नेपालका विभिन्न हलहरुमा सफलताका साथ चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।