काठमाडौं- युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले अहिले कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको च्याम्पियन्स लिग फुटबल २९ अगस्टमा सकाउने गरी तयारी सुरु गरेको छ।
अहिले च्याम्पियन्स लिगसँगै युरोपा लिग फुटबल अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय भइसकेको अवस्था छ। खेलहरु स्थगित गर्ने निर्णय भएको लामो समय भइसक्दा कोरोना संकटले प्रतियोगिता अनिश्चित बनिरहेको थियो।
अहिले भने २९ अगस्टसम्म बन्द रंगशालामा भए पनि खेल गर्न सकिन्छ कि भन्नेमा युइएफए लागिरहेको छ। त्यसका लागि २३ अप्रिलमा अर्को बैठक हुँदैछ। जसमा इस्तानबुलमा २९ अगस्टमा फाइनल खेल गर्ने गरी अरु खेल अगाडि नै सकाउने योजना बनिरहेको हो।
अहिले युरोपभर जुनसम्मका राष्ट्रिय टिमका खेलहरु पनि स्थगित गर्ने निर्णय भएको छ। युइएफएमा आबद्ध ५५ देशका सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो। इंग्लिस प्रिमियर लिगसहित युरोपका अरु ठूला लिग प्रतियोगिताहरु पनि स्थगित नै छन्।
युइएफएका अध्यक्ष अलेक्जेण्डर सेफेरिनले यसअघि नै जुनसम्म प्रतियोगिताहरु हुन सकेन भने सबै कुरा यत्तिकै सकिन सक्ने बताइसकेका थिए।
अहिले कोरोनाकै कारण विश्व फुटबल ठप्प छ। रोकिएका लिगहरु कहिले कसरी सुरु हुन्छन् भन्ने ठेगान छैन। केही खेलाडी र प्रशिक्षकमा पनि संक्रमण देखिएको छ। यसैले खेलाडीहरु ‘सेल्फ क्वारेन्टाइन’ मा छन्।
महत्वपूर्ण लिग फुटबलहरु स्थगित छन्। अन्य गतिविधि ठप्प छन्। जसले गर्दा केही क्लबले खेलाडीको तलब घटाउने घोषणा गरिसकेका छन् भने आउँदो सिजन हुने ट्रान्सफरमा पनि असर पर्ने देखिएको छ।
कोरोना संक्रमणकै कारण युरोकप फुटबल सरेको छ, च्याम्पियन्स लिग, युरोपा लिगसँगै क्लब विश्वकप जस्ता ठूला प्रतियोगिताहरु सरेका छन्। खेल गतिविधि बन्द हुँदा क्लबको आयको माध्यम पनि कमजोर भएको छ।
युरोकप फुटबल २०२१ मा गर्नेगरी मिति सरेकाले आउँदो सिजन पनि त्यसअघि नै सकाउनुपर्नेछ। प्रिमियर लिग, ला लिगा, सिरि ए, लिग वान, बुण्डेसलिगा जस्ता लिगका क्लबहरु आर्थिक संकटमा पनि परिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।