भैरहवा–रुपन्देहीको तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिहरुले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ४ लाख ५० हजार रुपैंयाँ सहयोग गर्ने निर्णय गरेका छन्। नगर कार्यपालिकाको बैठकले कार्यपालिका सदस्यहरुले कम्तिमा ५ हजार र नगरसभा सदस्यहरुले कम्तिमा २ हजारका दरले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो। कतिपय जनप्रतिनिधिहरुले यसअघि नैं कोषमा रकम जम्मा गरिसकेका छन्।
नगरप्रमुख बासुदेव घिमिरेले ५० हजार, उपप्रमुख जागेश्वरी चौधरीले १० हजार रुपैंयाँ कोषमा जम्मा गरिसकेका छन्। धेरैजसो कार्यपालिका सदस्यहरुले पनि कोषमा रकम जम्मा गरिसकेको र नगरसभा सदस्यहरुले निर्णयअनुसार रकम जम्मा गर्ने प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।
नगरपालिकाकामा कार्यरत कर्मचारी तथा शिक्षकहरुले तीन दिन बराबरको तलबबाट १७ लाख २ हजार ६ सय ६५ रुपैंयाँ कोषमा जम्मा गरिसकेका छन्। स्वास्थ्य शाखामा कार्यरत चार कर्मचारीले अलग्गै २५ हजारका दरले एक लाख रुपैंयाँ कोषमा जम्मा गरिसकेको लेखा अधिकृत रमेश बस्यालले जानकारी दिए।
नगरपालिकाको आह्वान अनुसार कोषमा हालसम्म झण्डै नगद ५५ लाख रुपैंयाँ संकलन भएको छ। कोषमा जनप्रतिनिधि, विभिन्न व्यक्ति, संघसंस्था, बैंक तथा वित्तीय संस्था, खानेपानी, वन सहकारी, विद्यालय, क्लब, विभिन्न व्यवसायिक प्रतिष्ठान लगायतले सहयोग गरेका हुन्।
यसअघि नैं स्थापना गरिएको कोषलाई कोरोना महामारी रोकथाम, पूर्वतयारी तथा उपचारको सन्दर्भमा मजबुत बनाउन नगरपालिकाले गरेको अपिलअनुसार हालसम्म झण्डै ५५ लाख नगद संकलन भएको हो। नगदका अतिरिक्त ७६ क्विन्टल चामल, एक क्विन्टल दाललगायतका खाद्यवस्तु समेत नगरपालिकालाई विभिन्न व्यक्ति तथा वित्तीय संस्थाहरुले प्रदान गरेका छन् ।
नगरपालिकाले एनआईसी एशिया बैंक लिमिटेडको मणिग्राम शाखामा रहेको प्रकोप व्यवस्थापन कोषमा सक्दो सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ ।
कोषको रकमबाट दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्ने परिवारका लागि राहत वितरण, क्वारेन्टाइन व्यवस्थापन, कोरोनासम्बन्धी सचेतना अभिवृद्धि, भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरुको खोजी, स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षण सामग्री व्यवस्थापनलगायतका काम सञ्चालन गरिएको नगरपालिकाको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।