एजेन्सी–विश्वभर फैलिइरहेको कोरोना भाइरसबाट मध्यपूर्वका देशहरु पनि प्रभावित भएका छन्। मध्यपूर्वको इरान सबैभन्दा बढी प्रभावित देश हो। इरानपछि बहराइन, इजराइल र साउदी अरब धेरै प्रभावित छन्।
इरान
इरानमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा कमी आएको छ। इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले पछिल्लो २४ घन्टामा ९८ जनाको मात्र मृत्यु भएको जानकारी दिए। योसँगै कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४ हजार ६ सय ८३ पुगेको छ। इरानमा हालसम्म ७४ हजार ८०० जना संक्रमित भएका छन्।
बहराइन
बहराइन प्रशासनले एक सैन्य अस्पतालको कार पार्कलाई अस्थायी आईसीयु बनाएको छ। यसमा १३० बेड निर्माण गरिएको छ जहाँ कोरोना भाइरसका बिरामीको उपचार भइरहेको छ। बहराइनमा हालसम्म १५०० संक्रमित पुष्टि भएको छ। कोरोना भाइरसका कारण सात जनाले ज्यान गुमाएका छन् ।
इजरायल
इजरायलमा जारी राजनीतिक खिँचातानीका बीचमा कोरोना भाइरसको संक्रमण दैनिक वृद्धि भइरहेको छ। हाल इजरायलमा ११ हजार ८सय संक्रमित रहेका छन् भने ११७ जनाले ज्यान गुमाएका छन् । इजरायलका प्रधानमन्त्री बेन्यामिननेतन्याहुले संकट बढ्दै गएकाले आफ्ना पूर्वराजनीतिक प्रतिद्वन्द्वी बेने गेजसँग सरकार गठनका बारेमा छलफल गरेका छन् । कोरोना भाइरसविरुद्ध एकजुट भएर लड्नका लागि आपसमा मिलेर जानुपर्ने प्रस्ताव उनले राखेका थिए । राष्ट्रपतिले गेजलाई बुधबार रातिसम्म सरकार बनाउने समय दिएका छन् । यो पटक उनले सरकार गठन गर्ने भनिएको छ।
साउदी अरब
साउदी अरबमा कोरोना भाइरसका संक्रमितको संख्या ४ हजार ९ सय रहेको छ। कोरोना भाइरसका कारण हालसम्म ६५ जनाले ज्यान गुमाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।