काठमाडौं– ट्विटरले श्रीलंकास्थित चिनियाँ दूतावासको ट्विटर अकाउन्ट 'सस्पेन्स' गरिदिएको छ। ट्विटरको नियम उल्लघंन गरेका कारण दूतावासको अकाउन्ट निलम्बित गर्नुपरेको ट्विटरले जनाएको छ। दूतावासे के नियम उल्लघंन गरेको थियो भन्ने चाहिँ खुलाइएको छैन।
कोलोम्बो ग्याजेट्सका अनुसार केही दिनअघि चिनियाँ दूतावासको ट्विटर एड्मिन थुप्रै ट्विटर प्रयोगकर्तासँग झगडामा उत्रिएको थियो। कारोना भाइरस संक्रमणमा चीनले लापरबाही गरेको भन्दै चीन सरकारलाई आरोप गरिएपछि दूतावास त्यसको प्रतिरक्षामा उत्रिएको थियो।
ट्विटरमा चलेको चकाचर्कीमा चीनले गैरकूटनीतिक भाषा प्रयोग गरेको आरोप दूतावासलाई लागेको थियो। यसैबीच दूतावासले निलम्बन खोल्न ट्विटरलाइ आवेदन दिएको बताएको छ। ‘यो दोहोरो मापदण्डा हो,’ दूतावासका प्रवक्ताले भनेका छन्, ‘त्यहाँ कथित मिडिया स्वतन्त्रता छ, तर अर्कातिर उनीहरुको आफ्नो एजेन्डामा नभएको जुनसुकै अकाउन्टलाई निलम्बित गरेका छन्।’
गत हप्ता कोरोना भाइरस संक्रमणबारे चीनलाई आरोपित गर्दै स्थानीय अखबारले टिप्प्णी छापेपछि चीनले त्यसप्रति आपत्ति जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।