काठमाडाैं- कोरोना भाइरसको उद्गम देश चीनमा फेरि बाहिरबाट आउने मानिसबाट संक्रमण सुरु भएको पाइएको छ। चीनको वुहानबाट सुरु भएको भाइरस संक्रमण युरोप र अमेरिकामा महामारीको रुप लिदाँ चीनमा लगभग नयाँ संक्रमित हुने क्रम रोकिएको थियो। तर, चीनमा फेरि यसको संक्रमण सुरु भएको छ।
बिहीबारमात्र चीनमा ४२ जना काेराेनाका नयाँ संक्रमित थपिएका छन्। यसरी थपिएका बिरामीमध्ये ३८ जना बाहिरबाट चीन प्रवेश गरेका व्यक्ति रहेकाे पाइएको छ। करिव दुई महिनाको लकडाउनपछि चीनको वुहान भर्खरमात्र खोलिएको छ।
जोन हप्किङ्स विश्वविद्यालयको ताजा तथ्यांकअनुसार चीनमा अहिलेसम्म ८२ हजार ८ सय ८३ जना संक्रमित भएका छन्। त्यस्तै ३ हजार ३ सय ३९ जनाले ज्यान गुमाएका छन्। ७७ हजार ६ सय ७९ जना उपचारपछि निको भएर भएका छन्।
चीनमा संक्रमण रोकिएपछि दोस्रो चरणमा संक्रमण देखिएको हो। दोस्रो चरणको संक्रमण फैलिएसँगै महामारीको रुप लिन सक्ने भन्दै वैज्ञानिकहरुले चेतावनी दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।