काठमाडौं- इंग्लिस प्रिमियर लिगका खेलाडीहरुले कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने सहयोग रकम जम्मा गर्न सामूहिक पहल थाल्ने निर्णय सामाजिक सञ्जाल वाट्सएपमा भएको कुराकानीपछिको निर्णय रहेको देखिएको छ।
इंग्लिस क्लब बोर्नमाउथका कप्तान सिमोन फ्रान्सिसले लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले राखेको प्रस्तावमा सबै कप्तानहरु एकमत भएर अगाडि बढेको बताएका छन्। ‘यो सहयोगमा यति नै गर्ने भन्दा पनि खेलाडीहरु जति सहयोग गर्न सहज हुन्छन् उति नै गर्ने भन्ने हो’ फ्रान्सिसले भने।
स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने सामग्री खरिद र अन्य खर्चका लागि खेलाडीहरुले एक आर्थिक कोष खडा गरेर त्यसमा सहयोगको आह्वान गरेका हुन्। उक्त सामूहिक पहललाई ‘प्लेयर्स टुगेदर’ को नाम दिइएको छ। जसमा अन्य परोपकारी संस्थाहरुको साथ पनि लिइएको छ।
‘हामी फुटबल समुदाय आवश्यक परेको बेलामा एक ठाउँमा उभिन सक्छौँ भन्ने राम्रो सन्देश पनि दिनु थियो। यो अवस्था कहिले ठीक हुन्छ भन्ने कुनै यकिन छैन त्यसैले हामीले आफ्नो ठाउँबाट सक्दो कामहरु गरिरहनुपर्नेछ’ बिबिसीसँगको कुराकानीमा फ्रान्सिसले भनेका छन्।
कोरोना भाइरसको जोखिम बढ्दै जाँदा अहिले विश्व खेलकुद गतिविधि ठप्प छन्। आर्थिक संकटमा परिरहेका युरोपियन फुटबल क्लबहरुले खेलाडीहको तलब कम गर्ने र केही कर्मचारी बिदा गर्ने जस्ता कामहरु गरिरहेका छन्।
लामो समयसम्म खेलाडीको तलब कम गर्ने विषयमा इंग्ल्याण्डमा विवाद देखिएको थियो। स्पेन र इटालीमा खेलाडीहरुले नै तलब कम गर्न राजी भइसक्दा पनि इंग्ल्याण्डका क्लबहरुमा दुविधा देखिएको थियो। यस्तोमा अहिले खेलाडीहरुले स्वास्थ्य क्षेत्रमा आवश्यक सहयोगका लागि सामूहिम पहल गरेपछि त्यसको धेरैले प्रशंसा गरिरहेका छन्।
यसमा माथिल्लो डिभिजनका १ सय ५० भन्दा बढी खेलाडीहरु जोडिएका छन्। ‘सामूहिक रुपमा स्वंयसेवी भावनामा आधारित रहेर यसमा सहयोग हुनेछ। देशभर रहेका जो कसैले गर्ने सानो सहयोग एकजुट हुँदा त्यसको महत्व ठूलो हुनेछ’ खेलाडीहरुले सामाजिक सञ्जालमार्फत सन्देश दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।