काठमाडौं- युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएका अध्यक्ष एलेक्जेन्डर सेफेरिनले कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यत्तिकै स्थगित हुनसक्ने खतरा रहेको बताएका छन्। सेप्टेम्बर अगावै खेल सकाउन नसकिए सिजन यत्तिकै स्थगित हुने उनले बताएका हुन्।
कोरोनाको संक्रमण कम भएपछि बन्द रंगशालामा खेल हुन सक्नेतर्फ संकेत गर्दै उनले भनेका छन्- ‘समयमा नै पुनः सुरु हुन सकेन भने फुटबलको यो सिजन यत्तिकै हराउनेछ।’
‘यदि नियामक निकायले खेल नगर भनेमा हामीले खेल गर्न सक्ने स्थिति रहँदैन। मुख्य कुरा त के हो भने के हुन्छ र के हुँदैन भनेर हामीले केही भन्न सक्ने अवस्था छैन’ उनले भनेका छन्।
कोरोना संक्रमणकै कारण युरोकप फुटबल सरेको छ, च्याम्पियन्स लिग, युरोपा लिगसँगै क्लब विश्वकप जस्ता ठूला प्रतियोगिताहरु सरेका छन्। खेल गतिविधि बन्द हुँदा क्लबको आयको माध्यम पनि कमजोर भएको छ। फुटबल जगतमा कल्पना गरिएभन्दा खराब स्थिति देखिएका छन्। विश्व फुटबलको प्रशासकीय निकाय फिफाले क्लबहरुलाई समेत सहज हुनेगरी केही नियम ल्याउने तयारी पनि गरिरहेको छ।
च्याम्पियन्स लिग र युरोपा लिगबाहेक पनि युरोपभर लिग फुटबलले आफ्नो विजेता टिम पाएको छैन। युरोकप फुटबल २०२१ मा गर्नेगरी मिति सरेकाले आउँदो सिजन पनि त्यसअघि नै सकाउनुपर्नेछ। प्रिमियर लिग, ला लिगा, सिरि ए, लिग वान, बुण्डेसलिगा जस्ता लिगका क्लबहरु आर्थिक संकटमा पनि परिरहेका छन्। सबै लिगहरु अनिश्चित कालका लागि स्थगित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।