काठमाडौं– सुडान घोटालाका रुपमा चर्चित भ्रष्टाचार मुद्दामा जेल परेका नेपाल प्रहरीका पाँच जना पूर्व उच्च अधिकारी जेल मुक्त भएका छन्। पूर्व आइजिपी हेम गुरुङसहितका अधिकारी जेल भुक्त भएका हुन्।
कैद भुक्तान गरी गुरुङ चैत १८ गते छुटेका हुन्। त्यस्तै, पूर्व एआइजी श्यामसिंह थापा हिजो (आइतबार) तथा दीपकसिंह थाङदेन चैत २३ मा छुटेका छन्। उनीहरु तीनै जनालाई सर्वोच्च अदालतले १/१ वर्ष कैद र ४०/४० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो। डिल्लीबजार कारागारमा बस्दै आएका उनीहरु कैद भुक्तान गरी छुटेका हुन्।
२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाइएका पूर्वआइजिपी रमेशचन्द ठकुरी भने फरार छन्।
त्यस्तै, पूर्व डिआइजी दीपक श्रेष्ठ र रवि राणा यसअघि नै कैद भुक्तान गरी छुटिसकेका छन्। उनीहरुलाई ६/६ महिना कैद र ३०/३० हजार रुपैयाँ जरिवानको सजाय भएको थियो। कैद छुटका लागि उनीहरु आफैं अदालत उपस्थित भएका थिए।
फैसला भएको ६० दिनभित्र अदालतमा उपस्थित भएमा २० प्रतिशत कैद तथा जरिवाना छुट हुने प्रावधान भएकाले उनीहरु आफैं उपस्थित भएका थिए। सोही अनुसार कैद छुट पाएर उनीहरु छुटेका हुन्। २०७४ वैशाख १७ मा सर्वोच्चले उनीहरुलाई दोषी ठहर गरेको थियो।
नेपाल प्रहरीको सुडानस्थित शान्ति मिसनका लागि आवश्यक एपिसीसहित बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ वर्षअघि मुद्दा दायर गरेको थियो। करिब ४४ करोडको खरिदमा २९ करोड अनियमितता भएको थियो। जसमा सर्वाेच्चले थोरै मात्र जरिवाना सुनाएपछि फैसलाको केही दिनमा उनीहरु आफैं उपस्थित भएर जेल गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।