काठमाडौं- इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको क्लब लिभरपुलले आफ्ना खेलाडीबाहेक केही कर्मचारीलाई निश्चित समयको बिदा दिएर घर पठाउने भएको छ।
यसरी जागिरबाट बिदा पाउने ती कर्मचारीले क्लबमार्फत केही नपाए पनि सरकारको रोजगारी सुरक्षा योजना अन्तर्गत ८० प्रतिशत तलब पाउन सक्नेछन्। कोरोना भाइरस (कोभिड १९) का कारण युरोपभर नै आर्थिक संकटमा क्लबहरु परिरहँदा लिभरपुलको यस्तो निर्णय आएको हो।
प्रिमियर लिगबाहेक क्लबमा खेलाडीको तलब कम गरेर अन्य कर्मचारीलाई शतप्रतिशत तलब दिने योजना बनिरहँदा लिभरपुलले भने कर्मचारी निस्कासन सुरु गरेको हो। प्रिमियर लिगले खेलाडीहरुलाई पनि ३० प्रतिशत तलब कम लिइदिन आग्रह गरिरहेको छ। स्पेन र इटालीमा खेलाडीहरु तलब कम गर्न राजी भइसक्दा पनि इंग्ल्याण्डमा भने विषय बहसमा नै छ।
लिभरपुलको त्यस्तो निर्णयमा विरोधहरु पनि आइरहेको छ। लिभरपुलकै पूर्वखेलाडीहरु जेमी कारेगर र स्टान कोलेमोरले लिभरपुलले कर्मचारीलाई त्यसरी निकाल्नु असाध्यै नराम्रो काम भएको बताएका छन्।
लिभरपुलसँगै इंग्लिस क्लबहरु न्युक्यासल युनाइटेड, टोटनह्याम, ब्रोनमाउथ र नर्विच सिटीले पनि खेलाडीबाहेकका केही कर्मचारीलाई बिनातलब बिदा दिइसकेको छ। यसरी बिदा हुनुपरेका कर्मचारीले क्लबमा भनिने गरेको जस्तो पारिवारिक वातावरण नरहेको भन्दै दुःखेसो गरेका छन्।
इंग्लिस प्रिमियर लिग फुटबल अनिश्चित समयसम्मका लागि स्थगित भइसकेको छ। कोरोनाको संक्रमण कम भएपछि पुनः सुरु गरिने भनिएको प्रतियोगिता अन्योलमा नै छ। त्यसले क्लबहरु नयाँ सिजनका लागि आर्थिक जोहोमा लाग्दै कर्मचारीमाथि कडा व्यवहार गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।