काठमाडौं- ओलम्पिक खेलकुद प्रतियोगिताको फुटबलमा २४ वर्ष भएका खेलाडीले पनि सहभागिता जनाउन पाउने गरी फिफाले तयारी गरिरहेको छ।
विश्व फुटबल महासंघ (फिफा) ले एक वर्ष खेलाडीको उमेर हद बढाउने तयारी गरेको हो। यस अघिका ओलम्पिक फुटबलमा २३ वर्षमुनिका खेलाडीले मात्रै सहभागिता जनाउन पाउने प्रावधान थियो।
विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण ओलम्पिक एक वर्ष सारिएको छ। यहि एक वर्षे अवधिलाई मध्यनजर गर्दै फिफाले २४ वर्ष पुगेका खेलाडीले खेल्न पाउने व्यवस्था ल्याउन लागेको हो। यो व्यवस्थासँगै अब सन् १९९७ जनवरी १ तारिखदेखि यता जन्मिएका खेलाडीले खेल्न पाउने छन्।
ओलम्पिक खेलकुद सन् २०२१ को जुलाई २३ देखि अगष्ट ८ तारिखसम्म जापानको टोकियो शहरमा आयोजना हुनेछ। पूर्वनिर्धारित तालिका अनुसार २०२० को जुलाई २४ देखि अगष्ट ९ तारिखसम्म ओलम्पिक खेलकुद आयोजना हुने थियो। तर विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण ओलम्पिक खेलकुद सारिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।