रसुवा– ११ दिनअघि बेपत्ता भएका रसुवा उत्तरगया गाउँपालिका–५ लहरेपौवाका चित्रमान डंगोलको मृत्यु भएको भनी उनकै फेसबुकमा शवको फोटोसहित स्टाटस आएपछि यतिबेला उनका परिवार त्रस्त छन्। उनको अवस्था पत्ता लगाउन माग गर्दै सोमबार आफन्त र स्थानीयले सात घन्टा जिल्ला बन्द गराएका छन्।
उनी बेपत्ता हुनु अगाडिका घटनाक्रम जति अनौठो छ, उनको हत्या गरेको दाबी गर्ने व्यक्तिले उनकै फेसबुकमा राखेको फोटो र पोस्ट उत्तिकै रहस्यमय छ।
रसुवाको मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक रहेका डंगोलको तीन साताअघि नुवाकोटको बट्टारमा राजन नगरकोटीसँग भेट भयो।
नगरकोटीले आफूले स्याफ्रुमा होटल व्यवसाय गरिरहेको र आफ्नो घर पनि बेचेकाले कुनै क्षेत्रमा लगानी गर्न चाहेको बताए। नगरकोटीले डंगोलले सञ्चालन गर्दै आएको विद्यालयमा सेयर लगानी गर्न इच्छा देखाए।
दुई जनाको समझदारी बनेर उनलाई नगरकोटीले चैत १५ गते स्याफ्रु आउन भनेपछि डंगोल १५ गते बिहानै घरबाट निस्किएको श्रीमती लक्ष्मी थोक्रा डंगोलले बताइन्। उनले भनिन्, ‘एक वर्षअघि टिमुरेका काले तामाङसँग लिएको ऋण ६ लाखको ब्याज करिब डेढ लाख रुपैयाँ तिरेर आउँछु र राजनसँग पनि सल्लाह गरेर आउँछु भनेर घरबाट निस्किनुभएको थियो।’
जिल्लाको उत्तरगया गाउँपालिका–५ लहरेपौवाका डंगोल चैत १५ गते बिहानै स्याफ्रुबेसी जान घरबाट निस्किएका थिए। बिहान सवा ८ बजे घरबाट बिदावारी भएका श्रीमानलाई लक्ष्मीले दिँउसो फोन गर्दा सम्पर्क हुन नसकेपछि परिवारले उनको खोजी सुरु गर्यो।
साथीभाइ, आफन्त भएतिर सम्पर्क गर्दा फेला नपरेपछि चैत १८ गते परिवारले उनको खोजीका लागि प्रहरीमा उजुरी दिए। प्रहरीले खोजतलास गरे पनि लामो समयसम्म अवस्था पत्ता नलागिरहेको अवस्थामा हराएकै व्यक्तिको फेसबुकमा उनको मृत्यु भइसकेको स्टाटस पोस्ट भएपछि परिवार त्रस्त बने।
सात घन्टा जिल्ला बन्द
११ दिनदेखि बेपत्ता रसुवाको उत्तरगया गाउँपालिका–५ लहरे घर भई बेत्रावती ट्रिनिटी इङ्लिस बोर्डिङ विद्यालयका सञ्चालक २९ वर्षीय चित्रमान डंगोलको फेसबुकमा उनी मारिएको बीभत्स तस्बिर पोस्ट भएपछि आफन्तले सोमबार सात घन्टा जिल्ला बन्द गराए।
चैत १५ गतेदेखि बेपत्ता भएका डंगोलको फेसबुकमा सोमबार राति उनको मृत्यु भइसकेको भन्दै शवको फोटो उनकै फेसबुकमा पोस्ट भएपछि सत्य–तथ्य पत्ता लगाउन माग गर्दै आफन्तले सोमबार बिहान ७ देखि दिउँसो २ बजेसम्म रसुवा बन्द गराए।
बेपत्ता भएका डंगोलको खोजीका लागि प्रहरीलाई उजुरी दिए पनि खोजीको लागि चासो नदिएको र हत्या भइसकेको भन्ने कुरा आइसक्दा पनि वास्ता नगरेको भन्दै स्थानीय थप आक्रोसित भएका छन्।
बन्द खुलाउने क्रममा स्थानीय प्रशासनले पीडित पक्षसँग छलफल गर्दै घटनाको जतिसक्दो छिटो यथार्थ पत्ता लगाउने प्रतिबद्धता जनाएको छ।
फेसबुकमा सार्वजनिक तस्वीर ‘फेक’
डंगोलको फेसबुक एकाउन्टमा बीभत्स ढंगले हत्या गरिएको तस्बिर ‘फेक’ भएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा ६ महिनाअघि नै अन्य सञ्जालमा प्रयोग गरिएको तस्बिर पोस्ट गरिएको भेटिएको प्रहरी नायव उपरीक्षक शरतकुमार थापाले बताए।
सोमबार राति १० बजेर ४५ मिनेटमा डंगोलको फेसबुकमा हत्या भएको तस्बिरसहितको स्टाटस राखिएको थियो। स्टाटसमा लेखिएको थियो ‘जसरी यसले मेरो भाइको १२ वर्षअघि पेटमा छुरी हानेको छ, भाग्यले मेरो भाइ बाँच्यो र आजसम्म ऊ अशक्त छ। यसलाई पनि म भाइको जस्तै हाल बनाउन चाहना छ। तर यो बाँच्यो भने त मेरो बर्बाद पारिदिन्छ। यसलाई यति रामो मौका पाइयो, कसैले पता नलागी सिद्धियो। यसैको फेसबुकमा लेख्ने पोस्ट गर्ने यो पनि यसको मोबाइलबाट हा हा । सबैको पालो आउँछ भनेको यो हो... पैसा पनि रेछ ...हा हा...।”
बेपत्ता भएका डंगोलको खोजी कार्य तीव्र पारिएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।