काठमाडौ– उखु किसानलाई रकम भुक्तानी नगर्ने चिनी उद्योगी वृजमोहन गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। उखु किसानलाई तत्काल भुक्तान गर्नुपर्ने रकम लामो समयसम्म नदिएको भन्दै सुनसरी प्रहरीले इस्टर्न सुगर मिल्सका सञ्चालक गुप्तालाई सोमबार पक्राउ गरेको हो।
गत चैत १० गते कृषि मन्त्री चक्रपाणि खनालको उपस्थितीमा उद्योग मन्त्रालयमा भएको सर्वपक्षिय छलफलमा चिनी उद्योगले चैत २२ गतेदेखी उखु किसानको भुक्तान गनुपर्ने रकम तत्काल उपलब्ध गराउने सहमती गरेका थिए।
सोही अनुसार इस्टर्न सुगर मिलले चैत २२ गतेबाट भुक्तानी सुचारु गर्ने भन्दै बिज्ञप्ती जारी गरेको थियो।
तर तोकिएको समयमा समेत उखु किसानलाई भुक्तानी गर्न चिनी उद्योगले ढिलाई गरेपछि उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादवले ठगी मुद्धामा कारबाही अगाडी बढाएका थिए।
सोही अनुसार प्रहरीले सुनसरीबाट इस्टर्न सुगर मिलका सञ्चालक गुप्तालाई पक्राउ गरेको छ।
मन्त्रालयका अनुसार रकम भुक्तानीमा ढिलाई गर्ने अन्य चिनी उद्योगलाई समेत कारबाही प्रक्रिया अघि बढिसकेको छ।
चिनी उद्योगहरुले आर्थिक समस्याको कारण देखाउदै उखु किसानलाई रकम भुक्तान गर्न अटेर गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।