धनगढी- प्रदेश नम्बर ७ को मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०७४/०७५का लागि प्रदेश सरकारका तर्फबाट पेश हुन लागेको नीति तथा कार्यक्रमलाई स्वीकृति दिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले प्रदेश सरकारको सार्वजनिक लिखत प्रमाणीकरण गर्ने कार्यविधिसम्बन्धी विधेयक तर्जुमा गर्न समेत सैद्धान्तिक स्वीकृति दिएको बैठकपछि प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिए।
बैठकले प्रदेशमा हालैको असिनापानी, खडेरी, चट्याङ जस्ता प्राकृतिक प्रकोपबाट पीडितको विवरण संकलन गरी तिनलाई सक्दो सहयोग गर्ने निर्णय समेत गरेको छ।
यस्तै, खारेजीमा पर्न लागेका प्रदेशका सबै नौ जिल्लास्थित जिल्ला समन्वय समिति अन्तर्गतका जिल्ला प्राविधिक कार्यालयमार्फत प्रदेश सरकारका कार्यक्रम सञ्चालन गर्न आवश्यक भएकाले आउँदो असार मसान्तसम्म ती कार्यालय कायम राख्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ । (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।