काठमाडौं- नेपाली कांग्रेसले सरकारले आर्थिक गतिविधि समावेश गरेर जारी गरेको श्वेतपत्रलाई अबौद्धिक र अव्यावसायिक मुचुल्काको संज्ञा दिएको छ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेसले 'सरकारले जारी गरेको निराशापत्रको निर्माण र प्रस्तुति अमूल्य समयको व्यर्थको खर्च' मात्र भएको ठहर गरेको छ।
२०४६ सालको परिवर्तनपछि कांग्रेस नेतृत्वको सरकारले हासिल गरेको उच्च आर्थिक वृद्धि अरु कुनै सरकारले गर्न नसकेको उल्लेख गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारले सार्वजनिक गरेको श्वेतपत्र झुटको खेती भएको टिप्पणी गरे।
अर्थमन्त्री युवराज खतिवडाले राज्यको ढुकुटी रित्तिएको भन्दै जारी गरेको श्वेतपत्रलाई कांग्रेसले प्रोपोगान्डाबाट प्रेरित रहेको बताएको छ। खर्च हुन नसकेको पुँजीगत रकम थुप्रिएको, स्थानीय तहलाई छुट्याएको रकम बाँकी रहेको, विदेशी मुद्राको सञ्चिति रहँदा समेत अघिल्लो सरकारले रित्तो ढुकुटी सुम्पिएको भनेर वर्तमान सरकारले देखाउन खोजेको कांग्रेसको आरोप छ।
‘रित्तो ढुकुटी सम्पिएको थियो भन्ने छवि स्थापना गर्न चाहेको प्रोपोगान्डा केही दिनभित्रैमा झुट प्रमाणित भइसकेको छ’, विज्ञप्तिमा भनिएको छ।
सरकारले नैतिक इमान्दारीभन्दा पर गएर नमिल्दो सन्दर्भ गाँस्दै असन्तुलित तथ्यांक श्वेतपत्रमा प्रस्तुत गरेको कांग्रेसको ठहर छ।
कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राज्यले हालसम्म गरेका समस्त आर्थिक उपलब्धिलाई नकार्ने र हामीले शून्यबाट समृद्धिको सुरुवात गर्न लागेका हौं भन्ने भ्रम स्थापित गर्ने प्रयत्न हुँदैछ। विगतका २५ वर्षमा ६२ गुणाले राजश्व वृद्धि भएको तथ्य श्वेतपत्रमा कतै उल्लेख छैन।’
कांग्रेसले अर्थतन्त्रको सकारात्मक पाटोको उपेक्षा गर्दै कतिपय कमजोरीको अतिरञ्जनापूर्ण प्रस्तुतिबाट चरम निराशा विस्तार गर्न खोजिएको आरोप समेत लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।