रसुवा- विद्यालयका प्रबन्ध निर्देशकको हत्याको खबर सार्वजनिक भएपछि आक्रोशित आफन्तहरुले गरेको रसुवा बन्दका कारण बजार, पसल ठप्प छन् भने यातायातका साधन चल्न सकेका छैनन्।
रसुवाको उत्तरगया गाउँपालिका ५ लहरे घर भई बेत्रावती ट्रिनिटी इंग्लिस बोर्डिङ स्कुलका सञ्चालक रहेका २९ वर्षीय चित्रमान डंगोलको हत्या भएको खबर उनकै फेसबुकमार्फत गएराति सार्वजनिक भएको थियो। फेसबुकमा १२ वर्षअघि भाइलाई छुरा हानेको बदला लिनका लागि मारिएको उल्लेख गर्दै शवको तस्बिर पनि राखिएपछि प्रहरी र आफन्त नै आश्चर्यमा परेका छन्। तर प्रारम्भिक अनुसन्धानमा सो तस्बिर डंगोलको नभएको प्रहरीले जनाएको छ। उक्त तस्बिर ६ महिनाअघि नै बाहिर आइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए।
यसैबीच, बन्द खुलाउने विषयमा प्रशासनले पीडित पक्षसँग छलफल गर्दै घटनाबारे २४ घन्टाभित्र सत्यतथ्य पत्ता लगाउने प्रतिबद्धता जनाएको छ।
डंगोल चैत १५ गतेदेखि बेपत्ता थिए। बेपत्ता भएदेखि नै खोजीका लागि प्रहरीलाई उजुरी दिए पनि चासो नदिएको र हत्याको खबर सार्वजनिक हुँदा पनि छानबिन नथालेकाले बन्द गराएको स्थानीय गणेश श्रेष्ठले बताए।
आफ्नो घर लहरेबाट स्याफ्रुबेँसीका लागि हिँडेका डंगोलले १५ गते राति १० बजे आफू स्याफ्रुबेँसी पुगेको जानकारी परिवारमा गराएका थिए। त्यसलगत्तै उनी सम्पर्कविहीन भएको उनका दाजु नेत्रमान डंगोलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।