काठमाडौं– विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण फुटबल जगतमा पनि ठूलो असर परिरहेको छ। अहिले नै खेलाडीहरुको तलब कम हुनेदेखि नयाँ सिजनमा समेत यसको मार पर्ने देखिन्छ।
खेलाडीहरु क्लबलाई तलब कम गरेर सहयोग गर्नुका साथै आफ्नो कमाइको केही हिस्सा कोरोना भाइरसविरुद्ध लड्न सहयोग पनि गरिरहेका छन्। इटालियन क्लब युभेन्टसमा रहेका क्रिष्टियानो रोनाल्डोले पनि आफ्नो तलब कम लिएर क्लबको आर्थिक संकटमा सहयोग गरेका छन्। चार महिनासम्म तलब रोक्नसमेत उनी सहमत भएका छन्।
तर क्लबमा परेको यो आर्थिक संकटका कारण रोनाल्डोको युभेन्टस बसाइ लामो नहुने इटालियन सञ्चार माध्यमहरुले दाबी गरिरहेका छन्। युरोपभर नै क्लबहरुमा परिरहेको आर्थिक संकटबाट युभेन्टस पनि पर छैन। कोरोनाको ठूूलो असर पनि युरोपमा हेर्दा इटाली र स्पेनमा नै परेको देखिन्छ। लामो समय खेल रोकिँदा क्लबको आयको सबै माध्यम बन्द भएका छन्।
यसैले क्लबहरुमा धेरै तलब लिने खेलाडीहरुलाई भविष्यसम्म त्यसले असर गर्ने आँकलन गरिएको छ। इटालीकै मेसागेरो पत्रिकाले त रोनाल्डोले कोरोना भाइरसले ल्याउने खराब परिस्थितिकै कारण क्लब छाड्ने दाबी पनि गरिरहेको छ।
स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्टस गएका रोनाल्डोको तलब अहिले १ सय १८ मिलियन युरो रहेको बताइन्छ। रोनाल्डो मात्र होइन धेरै ठुलो तलब लिने खेलाडीहरुलाई नै आउँदो सिजन समस्या रहन सक्ने फुटबल पण्डितहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।