काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका खेलाडीहरु ७० प्रतिशत तलब कम गर्न तयार भएका छन्। कोरोना भाइरस (कोभिड १९) का कारण क्लबमा परिरहेको आर्थिक संकट कम गर्न सकियोस् भनेर क्लबले गरेको प्रस्तावमा खेलाडीहरु सहमत भएका हुन्।
फुटबल गतिविधि ठप्प हुँदा युरोपभर नै क्लबहरु आर्थिक संकटमा परिरहेका छन्। त्यसले धेरैजसो क्लबले खेलाडीको तलब गर्ने गरी तयारी गरिरहेका छन्। अहिलेसम्म बार्सिलोनामा नै सबैभन्दा बढी तलब कम हुने देखिएको हो।
‘बार्सिलोनाको सिनियर टिमको तलब कम हुने विषयमा निकै कुराहरु आइरहेका छन्। यस्तो कठिन परिस्थितिमा हामी खेलाडीहरु तलब कम गर्न तयार छौँ। हामीले क्लब अप्ठ्यारोमा परिस्थितिमा हुँदा जुनसुकै बेला मद्धत गरिरहेका छौँ’ मेस्सीले इन्स्टाग्राममा लेखेका छन्।
‘यदि हामी सबै खेलाडीले अहिले ७० प्रतिशत तलब कम गरेर लियौँ भने क्लबमा काम गर्ने अरु सबै कामदारले कठिन समयमा पूरा तलब पाउँछन् भने त्यो राम्रो कुरा हो’ मेस्सीले लेखेका छन्।
केही दिनअघि कप्तान मेस्सीले कोरोनाविरुद्ध लड्न एक मिलियन युरो सहयोग गरेका थिए। उनले बार्सिलोनाको एक अस्पताल र कोरोना भाइरस (कोभिड १९) रोगविरुद्ध काम गरिरहेको अर्जेन्टिनाको एक मेडिकल सेन्टरलाई उक्त रकम सहयोग गरेका हुन्।
अहिले स्पेनिस ला लिगा र च्याम्पियन्स लिगका खेलहरु स्थगित रहेका बेला क्लबको कमाइको बाटोहरु पनि कमजोर बनेका छन्। यसैले क्लबले यो अवधिमा आफूहरु एक मिलियन युरोभन्दा बढी रकम घाटामा रहेको बताएको छ।
बार्सिलोनाको यो सिजनको बजेटमा ६१ मिलियन युरो नयाँ खेलाडी किन्दा र ५०७ मिलियन युरो खेलाडीको तलबमा खर्च भएको छ। यस्तै पुरानो ऋण तिर्नमा १३५ मिलियन युरो खर्च भएको छ।
स्पेनिस ला लिगामा बार्सिलोना र रियल मड्रिडबीच यो सिजन उपाधि भिडन्त रोचक हुने देखिएको थियो। तर कोरोनाका कारण खेल स्थगित भएसँगै त्यो रोमाञ्चकता पनि सकिएको छ। २७ खेल सकिँदा ५८ अंकसहित बार्सिलोना शीर्ष स्थानमा थियो। दोस्रोमा रहेको रियल मड्रिडको ५६ अंक छ। अहिले स्थगित रहेको खेल कहिले हुने भन्ने यकिन छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।