काठमाडौं- कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको विश्व फुटबलमा अझ कठीन परिस्थितिहरु आउने देखिएको छ। विशेषतः क्लबहरुमा आएको आर्थिक संकटका कारण युरोपभर अवस्था नाजुक बनेको छ।
खेलाडीको तलब कम हुने निर्णयहरु भइरहेका बेला इंग्लिस प्रिमियर लिग, इंग्लिस फुटबल लिग र प्रोफेसनल फुटबलर्स एशोसियसनले ‘केही अप्ठ्यारो निर्णय लिनुपर्ने अवस्था आएको’ भन्दै संयुक्त विज्ञप्ती निकालेका छन्।
इंग्ल्याण्डमा अप्रिल ३० सम्मका लागि सबै प्रतियोगिता स्थगित गरिने निर्णय भएको भए पनि फैलँदै गएको कोरोना संक्रमणका कारण तोकिएको समयमा पनि खेल हुन कठीन देखिन्छ। निर्णयमा भनिएको छ– ‘सुरक्षित अवस्था जब हुन्छ तब खेल सञ्चालन हुन्छ।’
अप्ठ्यारो परिस्थितिको सामना गर्नका लागि अर्को हप्ता बैठक बसिने बताइएको छ। सबै एक भएर अघि बढ्ने र केही सन्तुलित निर्णय गर्ने विज्ञप्तीमा उल्लेख छ।
कोरोना संक्रमणकै कारण युरोकप फुटबल सरेको छ, च्याम्पियन्स लिग, युरोपा लिगसँगै क्लब विश्वकप जस्ता ठूला प्रतियोगिताहरु सरेका छन्। खेल गतिविधि बन्द हुँदा क्लबको आयको माध्यम पनि कमजोर भएको छ। फुटबल जगतमा कल्पना गरिएभन्दा खराब स्थिति देखिएका छन्। विश्व फुटबलको प्रशासकीय निकाय फिफाले क्लबहरुलाई समेत सहज हुनेगरी केही नियम ल्याउने तयारी पनि गरिरहेको छ।
रोकिएका लिगहरु कसरी सकाउने भन्ने विषयमा छलफलहरु देखिएका छन्। पहिलो त कोरोना भाइरसको संकट टरेपछि रोकिएको खेल सुरु गर्ने विषयमा छलफल केन्द्रित देखिन्छ। अर्को त अवस्था केही साम्य भएपछि बन्द रंगशालामा खेल गर्ने भन्ने विषयमा पनि कुराकानी भइरहेका छन्। च्याम्पियन्स लिग र युरोपा लिग जस्ता प्रतियोगिताको नकआउट चरण दुई लेगमा नगरी एक खेलमा नै निर्णय गर्ने गरी युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले तयारी गरिरहेको छ।
च्याम्पियन्स लिग र युरोपा लिगबाहेक पनि युरोपभर लिग फुटबलले आफ्नो विजेता टिम पाएको छैन। युरोकप फुटबल २०२१ मा गर्नेगरी मिति सरेकाले आउँदो सिजन पनि त्यसअघि नै सकाउनुपर्नेछ। प्रिमियर लिग, ला लिगा, सिरि ए, लिग वान, बुण्डेसलिगा जस्ता लिगका क्लबहरु आर्थिक संकटमा पनि परिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।