काठमाडौं- खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुरुङ खन्ने कामको अन्तिम ‘ब्रेक थ्रु’ चैत २९ गते हुने बताएकी छन्।
नेकपा माओवादी केन्द्र, ७ नम्बर प्रदेश–काठमाडौं संघीय जनसम्पर्क मञ्चले काठमाडौंमा गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले निरन्तरको निर्देशनले आयोजना ‘ब्रेक थ्रु’को चरणमा पुगेको बताइन्।
‘मन्त्रालयमा आएपछि मैले सुरुङ खन्ने कामको निरन्तर फ्लोअप गरेँ, प्रगति विवरण लिएँ,’ उनले भनिन्, 'कामको प्रगति हेर्दा आगामी दशैंअघि वैकल्पिक मार्गबाट काठमाडौंसम्म मेलम्चीको पानी पुर्याउन सकिने देखिन्छ।'
जनताको घरदैलोमा स्वच्छ खानेपानी पुर्याउने प्राथमिकता सँगसँगै अन्तर्राष्ट्रिय बजारमा खानेपानी बेचेर आयस्रोत बढाउने विषयमा समेत योजना बनाउने मन्त्री मगरले बताइन्।
‘हिमश्रृङ्खलाबाट बगेको पानीलाई विदेशमा महँगो मूल्यमा बेच्न सकिन्छ’, मन्त्री मगरले भनिन्, ‘यसरी सोच्दा खानेपानी उद्योग स्थापना हुने, रोजगारी सिर्जना हुने र आयआर्जन बढ्ने हुन्छ।’
वर्तमान सरकारमा ७ नम्बर प्रदेशबाट एक्लै मन्त्री भएकाले जनताको धेरै आशा पूरा गर्नु चुनौतीपूर्ण भए पनि स्याबासी पाउनेगरी काम गर्ने मन्त्री मगरले बताइन्।
कार्यक्रममा बोल्दै माओवादी केन्द्र ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्टले मन्त्री बिना मगरलाई सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताए। उनले पार्टीका नेता कार्यकर्ताले सिंहदरबारमा भीड बढाउनुभन्दा जनताको घरदैलोमा गएर काम गर्नुपर्ने पूर्वमन्त्री भट्टले सुझाव दिए।
कार्यक्रममा ७ नम्बर प्रदेशका नेता-कार्यकर्ताको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।