काठमाडौं- कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलँदै जाँदा डर बढिरहेको इटालीमा फुटबल क्लब इन्टर मिलानले आफ्ना विदेशी खेलाडीलाई इटाली छाडेर जाने अनुमति दिएको छ।
क्लबबाट क्वारेन्टाइन छाडेर आफ्नो घर फर्कने अनुमति पाएसँगै सबैभन्दा पहिले इन्टर मिलानका मार्सेलो ब्रोजोभिच आफ्नो देश क्रोयसिया फर्किएका छन्। मार्सेलोको गाउँ जाग्रेबमा भूकम्पका कारण ठूलो क्षति भएकाले उनी छिटो घर फर्किएका हुन्।
यस्तै स्लोभानिया घर भएका सामिर हान्दानोभिक पनि फर्किएका छन्। यस्तै डिएगो गोडिन र माटिएस भेकिनो पनि आफ्नो घर उरुग्वे फर्कने तयारी गरिरहेका छन्।
कोरोना भाइरसको संक्रमण त्रास सकिएपछि पनि फुटबल कहिले सुरु हुने हो भन्ने यकिन नभएकाले इन्टर मिलानले आफ्ना खेलाडीलाई मिल्नेसम्मको अभ्यास घरमा नै गर्न पनि आग्रह गरेको छ।
यस्तै इटालियन क्लब युभेन्टसले क्वारेन्टाइन अन्त्य गरेको बताएपनि खेलाडीहरुलाई बाहिर निस्कने अनुमति भने दिएको छैन।
इटालियन क्लब एटलान्टाका गोलकिपर मार्को स्पोर्टिलोमा कोरोना संक्रमण देखिएपछि मथ्थर हुँदै गएको डर अहिले पुनः बढेको छ।
अवस्था अझै नियन्त्रणमा नरहे पनि नापोली र लाजियोले भने सक्दो छिटो खेलाडीहरुलाई अभ्यासमा फर्काउने प्रयास गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।