काठमाडौं– कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै जाँदा फुटबल खेलाडीहरु पनि त्यसविरुद्ध एकजुट हुँदै गइरहेका छन्। जसमा स्पेनिस क्लब बार्सिलोनाका कप्तना लियोनल मेस्सीले एक मिलियन युरो सहयोग गरेका छन्।
मेस्सीले बार्सिलोनाको एक अस्पताल र कोरोना भाइरस (कोभिड १९) रोगविरुद्ध काम गरिरहेको अर्जेन्टिनाको एक मेडिकल सेन्टरलाई उक्त रकम सहयोग गरेका हुन्। मेस्सीले सहयोग गरेको जानकारी अस्पतालमार्फत नै बाहिरिएको थियो। अस्पतालले सहयोगका लागि मेस्सीलाई धन्यबाद दिएको छ।
यस्तै इंग्लिस क्लब म्यानचेस्टर सिटीमा प्रशिक्षक रहेका पेप गार्डिओलाले पनि एक मिलियन युरो बार्सिलोनामा नै रहेको अर्को एक अस्पतालालाई मेडिकल सामान किन्नका लागि सहयोग गरेका छन्।
कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा विश्व फुटबल गतिविधि ठप्प छ। क्लबहरु खेलाडीहरुको तलब घटाउन लागिपरेका छन्। बार्सिलोनाले पनि मंगलबार मात्रै खेलाडीहरुको तलब ७० प्रतिशतले कम गर्न सहमतिको प्रयास गरेको थियो। यस्तोमा खेलाडीहरु भने कोरोनाविरुद्ध लड्न आर्थिक रुपमा सहयोग गर्न अगाडि बढिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।