रुपन्देही– नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको उग्र राष्ट्रवादको छवि भारत भ्रमणले छर्लंग भएको बताएका छन्।
प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै सिंहले विगतमा ओली भारत विरोधीका रुपमा प्रस्तुत भएको तर प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारतमै गरेर आफ्नो उग्र राष्ट्रवाद छर्लंग पारेको तर्क गरे।
'विगतमा उहाँको उग्र राष्ट्रवाद कसरी प्रस्तुत भएको थियो, आखिर भ्रमण त भारतकै गरेर देखाउनुभो नि,’ कांग्रेसका पूर्व महामन्त्री समेत रहेका सिंहले भने, ‘उहाँको राष्ट्रवादको विषय इतिहासले मूल्यांकन गर्नेछ।’
नेता सिंहले प्रधानमन्त्रीको भारत भ्रमणलाई अहिले नै सफल र ऐतिहासिक भन्न नसकिने बताए।
‘उहाँले गरेका समझदारी कार्यान्वयनमा आएर जनताले अनुभूत गर्न पाएछन् भने भ्रमण सफल भएको मान्न सकिन्छ’, उनले भने।
नेता सिंहले सरकारले गर्ने राम्रा निर्णय र समृद्धिको अभियानको कांग्रेसको रचनात्मक साथ र समर्थन रहने बताए। तर, लोकतन्त्रका मूल्य मान्यतामा तल माथि गरे चुप लागेर नबस्ने बताए।
तीनवटै चुनावमा पार्टीले हार बेहोर्नुका पछाडि मूल रुपमा पार्टी नेतृत्व दोषी रहेको कुरा आफूले लिखितरुपमै राखेको स्मरण गराए।
देश संघीय संरचनामा गए पनि पार्टीको संरचना पुरानै भएको, महाधिवेशन भएको २ महिनामा हुनुपर्ने पदाधिकारी नियुक्ति र विभागहरु गठन हुन नसक्नु पनि पार्टी हारको कारण रहेको उनले बताए
कांग्रेसलाई कम्युनिस्टसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउन नेतृत्व परिवर्तन,सांगठनिक सुदृढता र वैचारिक स्पष्टता अपरिहार्य भएको पनि सिंहले स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।