काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय समिति बैठक वैशाख ३ गतेबाट पुनः सुचारु हुने भएको छ। केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि स्थगित भएको केन्द्रीय समिति बैठक वैशाखको पहिलो साता सुरु हुने कांग्रेसले जनाएको छ।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समीक्षा गर्न कांग्रेसले चैत ९ गते केन्द्रीय समिति बैठक बोलाएको थियो।
हालसम्म बैठकमा आफ्नो धारणा राख्ने अधिकांश नेताले पार्टी नेतृत्वको कार्यशैलीका कारण चुनावमा हार ब्यहोर्नुपरेको बताउँदै नयाँ ढंगले अगाडि बढ्नुपर्ने बताएका थिए।
नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवा विधिविधान अनुसार नचलेको आरोप लगाउँदै नेतृत्व असफल भएको बताएका छन्।
देउवापक्षीय नेताहरुले निर्वाचनमा व्यहोरेको हारको जिम्मेवारी पार्टीका सबै पक्षले लिनुपर्ने भन्दै सभापतिको बचाउ गरेका छन्।
बैठकले पार्टीको महासमिति बैठकको मिति समेत टुंगो लगाउने तयारी गरेको छ। महाधिवेशनको वर्ष बाहेक महासमिति बैठक प्रत्येक वर्ष बस्नुपर्ने कांग्रेसको विधानमा उल्लेख छ। तर, सभापति देउवाले सभापतिमा निर्वाचित भएको दुई वर्ष बितिसक्दा समेत एक पटक पनि महासमिति बैठक बोलाउन सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।