काठमाडौं– स्पेनिस क्लब बार्सिलोनाले कप्तान लियोलन मेस्सीसँग तलब कम गर्ने विषयमा कुराकानी गरेको छ। कोरोना भाइरस (कोभिड १९) का कारण ठप्प खेलकुदले अप्ठ्यारो परिस्थिति सिर्जना भएको भन्दै क्लबले कप्तानसँग कुराकानी गरेको हो।
आयको माध्यम बन्द हुँदै जाँदा क्लब थप संकटमा पर्न सक्ने भन्दै बार्सिलोना बोर्डले खेलाडीहरुको तलब कम हुन सक्ने विषयमा मेस्सीसँग कुराकानी गरेको स्पेनिस पत्रिका मार्काले उल्लेख गरेको छ।
तलब कम गर्ने विषयमा खेलाडीहरु सकारात्मक देखिए पनि रोकिएको फुटबल सिजन कहिले सुरु हुन्छ भन्ने यकिन नहुँदा क्लब कसरी अगाडि बढ्छ भन्ने पनि अन्योलमा देखिन्छ। युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले नयाँ सिजन अगावै यो सिजनका खेलहरु सकिने बताइरहे पनि कोरोना महामरी अझ कति लम्बिन्छ भन्ने पत्तो छैन।
अहिले स्पेनिस ला लिगा र च्याम्पियन्स लिगका खेलहरु स्थगित रहेका बेला क्लबको कमाइको बाटोहरु पनि कमजोर बनेका छन्। यसैले क्लबले यो अवधिमा आफूहरु एक मिलियन युरोभन्दा बढी रकम घाटामा रहेको बताएको छ।
बार्सिलोनाको यो सिजनको बजेटमा ६१ मिलियन युरो नयाँ खेलाडी किन्दा र ५०७ मिलियन युरो खेलाडीको तलबमा खर्च भएको छ। यस्तै पुरानो ऋण तिर्नमा १३५ मिलियन युरो खर्च भएको छ। यसैले क्लबले खेलाडीहरुको तलबका सम्बन्धमा छलफल गर्दै केही सहयोग गरिदिन आग्रह गरेको हो। तलब ढिलो लिग्ने वा केही समयका लागि तलब कम गर्ने विषयमा छलफल भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।