राजविराज– सप्तरी जिल्ला सुरक्षा समितिसहितको आइतबार सम्पन्न सर्वदलीय र सर्वपक्षीय बैठकले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जिल्लाभरिका साप्ताहिक हाट बजारलाई दैनिक रुपमा लगाउने निर्णय गरेको छ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनील खनालको अध्यक्षतमा सम्पन्न बैठकले संक्रमण फैलन नदिन फराकिलो स्थान र भीडभाड नहुने गरी बजार लगाउने र त्यस्ता ठाउँमा हातधुने व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ।
बैठकले जिल्लामा सञ्चालित सबै प्रकारका होटल, रिसोर्ट, मदिरा पसल र रेष्टुरेन्ट तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ। कसैले त्यस्ता पसल सञ्चालनमा ल्याउन चाहे अनिवार्य रुपमा हात धुने सेनिटाइजर र थर्मल गनसहितका स्वास्थ्यकर्मीबाट परीक्षणको व्यवस्था गर्नुपर्ने निर्णय गरिएको छ।
यसैगरी, अत्यावश्यक बस्तु बिक्री वितरण गर्ने पसल, व्यापार, प्रतिष्ठान बाहेकका अन्य पसलहरु बन्द गर्न उद्योग बाणिज्य संघमार्फत् पहल गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले वताए।
बैठकले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन, भेला, सभा, सम्मेलन, भोज भतेरको आयोजना नगर्नसमेत आग्रह गरेको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।