काठमाडौं- कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण खेल क्षेत्रका सबै गतिविधि रोकिएका छन्। केही खेलाडी र प्रशिक्षकमा समेत संक्रमण देखिएको छ। यस्तोमा केही फुटबलरहरु कोरोनाविरुद्ध लड्न आर्थिक सहयोग गर्न लागिपरेका छन्।
‘वी किक कोरोना’ नाम दिइएको एक अभियान अन्तर्गत बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की र उनकी श्रीमती एन्नाले एक मिलियन युरो सहयोग गरेका छन्।
यस्तै बायर्न म्युनिखकै लियोन गोर्टेज्का र जोसुवा किमिच दुवै मिलेर एक मिलियन युरो सहयोग गरेका छन्।
कोरोनाविरुद्धको लड्ने अभियानमा अरु फुटबल खेलाडीहरु पनि जोडिँदै गएका छन्। म्यानचेस्टर सिटीका विंगर लेरोए सानेले पनि आर्थिक सहयोग गर्ने बताएका छन्।
‘यस्तो अप्ठ्यारो परिस्थितिबारे हामी सबै जानकार छौँ। हामी सबै एक टिमका रुपमा बलियो बनेर यो परिस्थितिको सामना गरौँ। यदि कोहि सहयोग गर्न सक्ने अवस्थामा छौँ भने सहयोग गरौँ’, लेवान्डोस्कीले भनेका छन्, ‘अहिलेको खराब परिस्थितिको असरमा हामी सबै छौँ। त्यसैले तपाइँहरु सबैलाई आग्रह छ जानकार मान्छेको सल्लाह मान्नुहोस् र सुरक्षित बस्नुहोस्।’
‘वी किक कोरोना’ अभियान अन्तर्गत २.५ मिलियन युरो जम्मा भइसकेको छ। अरु थप सहयोगहरु र सामाजिक सचेतनाका कामहरु पनि भइरहेका छन्।
‘यसमा सबै जनाले सहयोग गर्न सक्नुहुन्छ। थोरै धेरै जति सकिन्छ सहयोग गरौँ’, किमिचले भनेका छन्, ‘हामी सबै एक उद्देश्यमा लाग्नुपर्ने बेला हो यो, केही कारणसहित हामी जिम्मेवार बनौँ र सक्ने काम गरौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।