काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै चैत १० देखि लामो दुरीका यात्रुबाहक सवारीसाधन सञ्चालनमा रोक लगाउने घोषणा गरे। कोरोनाको संक्रमण जोखिम न्यूनीकरण गर्न यात्रुबाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।
यातायात व्यवस्था विभागले लामो दुरी भन्नाले २ सय ५० किलोमिटर भन्दा बढीका बाटोलाई व्याख्या गरेकाे छ। लामो दुरीका सवारीसाधन भन्नाले २ सय ५० किलोमिटरभन्दा बढी दुरीमा गुड्ने सवारीसाधनलाई बुझाउँछ। तर यो दुरीमा काठमाडौंबाट भारत तथा चीनको सीमानामा सहजै पुग्न सकिन्छ। काठमाडौंबाट त्रिशुली हुँदै चीनको सीमा रसुवागढी पुग्न १ सय ५८ किलाेमिटर मात्र रहेको छ। त्यस्तै १ सय १६ किलोमिटरमा काठमाडौंबाट तातोपानी नाका पुग्न सकिन्छ।
काठमाडौंबाट त्रिभुवन राजपथ हुँदै रक्सौल करिब १ सय ४० किलोमिटरमै पुग्न सकिन्छ। यसरी हेर्दा २ सय ५० किलोमिटरमा भारत तथा चीनको सीमानामा सहजै पुग्न सकिन्छ।
काठमाडौं-पोखराको दुरी २ सय किलोमिटर रहेको छ। २ सय ५० किलोमिटरमा पर्वत पुग्न सकिन्छ। काठमाडौंबाट २ सय ५० किमिमा रुपन्देहीको सिमानासम्म पुग्न सकिन्छ।
यसैगरी काठमाडौंबाट बिपी राजमार्ग हुँदै बर्दिबास २ सय किलोमिटर भन्दा कम दुरीमा पुग्न सकिन्छ।
लामो दुरी भन्नाले २ सय ५० किलोमिटरलाई व्याख्या गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए। 'प्रधानमन्त्रीज्यूको सम्बोधनमा लामो दुरी भनिएको छ। यसले कहाँसम्म भन्ने स्पष्ट पारेको छैन', उनले नेपाल लाइभसँग भने, 'यायातात कानुनमा भएको लामो दुरीलाई मान्ने हो भने छिमेकी देशको सीमा नै छुन्छ।' त्यसैले आज मन्त्रालयमा हुने बैठकमा यस बारेमा समेत छलफल हुने उनले बताए।
शनिबारको छलफलबाट निश्चित किलोमिटर वा जिल्लाको सीमा तोकेर यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न दिने व्यवस्था हुने हमालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।