काठमाडौं–सरकारले चैत ६ बाट सबै शैक्षिक संस्था बन्द गर्न निर्देशन दिए पनि विद्यालयहरुले अवज्ञा गरेका छन्। विद्यालयहरुले नयाँ शैक्षिक सत्रका लागि धमाधम प्रवेश परीक्षा लिइरहेका छन्। उपत्यकाका तीनै जिल्लाका केही विद्यालयले प्रवेश परीक्षा लिइरहेका हुन्।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले परीक्षा लिन नपाइने बताए। ‘स्कुल जवाफदेही हुनुपर्छ कि पर्दैन? एसइई रोकेपछि प्रवेश परीक्षा लिन हुन्छ? स्कुलले बुझ्नुपर्छ कि पर्दैन,’ शर्माले भने, ‘स्कुल सामाजिक संस्था हो। सरकारले बनाएको समितको निर्णय नमानेर हुन्छ? जुनसुकै स्कुल भए पनि स्थानीय तहले अनुगमन गर्नुपर्छ।’
शर्माले स्कुल खोलेको सूचना आएको खण्डमा उच्चस्तरीय समितिमा रिपोर्टिङ गराइने बताए। उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत ५ गतेदेख सबै शैक्षिक संस्था अर्काे सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो।
उच्चस्तरीय समितिको निर्णयको १३औं बुँदामा ‘सरकारी, सामुदायिक तथा निजी क्षेत्रबाट सञ्चालित सबै प्रकारका बाल विकास केन्द्रहरु, आधारभूत तथा माध्यमिक विद्यालयहरु, शैक्षिक प्रतिष्ठानहरु र विश्वविद्यालयहरुको पठनपाठन २०७६ चैत मसान्तसम्म बन्द गर्ने’ उल्लेख छ ।
काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख तारापति खरेलले कुनै पनि शैक्षिक कार्यक्रम नगर्न सबै विद्यालयमा पत्राचार गरिएको बताए। ‘हामीले सबै विद्यालयहरुलाई कुनै पनि शैक्षिक कार्यक्रम नगर्न पत्राचार गरेका छौँ,’ खरेलले भने,‘सरकारले दिएको निर्देशन सबैले मान्नुपर्छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।