काठमाडौं-१० वर्षे सशस्त्र द्वन्द्वमा मात्रै होइन, शान्ति प्रक्रियामा समेत रामबहादुर थापा ‘बादल’ मार्क्सवाद, लेनिनवाद, माओवाद विचार र दर्शनसँगै पार्टीले लिने कार्यदिशाका विषयमा गर्मागर्मी बहसमा सहभागी हुन्थे। पार्टीमा हुने बहस र छलफलमा कहिलेकाहीँ बादल वारपार हुने नै गरी प्रस्तुत हुन्थे।
पहिलो पटक ०६५ साल रक्षामन्त्री भई सरकारमा जाँदा बादलको 'मुड' बेग्लै थियो। तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवालसँगको टकरावको मूल कारण सेनाप्रति उनको अनुदार मुड नै मूल कारक देखिएकै हो।
०६९ मा क्रान्तिलाई धोका दिएको भन्दै मोहन वैद्यले तत्कालीन माओवादी फुटाएपछि बादल वैद्य नेतृत्वकै माओवादीमा सहभागी भए। चार वर्ष बित्न नपाउँदै वैद्यसँग सम्बन्धविच्छेद गरी ०७३ मा पुनः प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएपछि उनी धेरै बदलिए। वैचारिक बहस र छलफलमा उनको सहभागिता कम हुँदै गयो।
गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनी न आक्रामक छन्, न रक्षात्मक नै। अहिले बादल न राजनीतिक बहसमा खरो देखिन्छन्, न सरकार र गृह प्रशासनका विषयमा नै। गृहमन्त्रीका रूपमा सहभागी हुनैपर्ने कार्यक्रममा सहभागी हुने अनि सरकारको कामको बचाउमा केही शब्द खर्चिएरै समय कटाइरहेका छन् उनी।
प्रवेश गर्दा उग्र, एकाएक सुस्त
एमाले-माओवादी एकतापछि बहुमत प्राप्त सरकारमा राष्ट्रिय सभाबाट सांसद हुँदै गृहमन्त्री भएपछि बादल केही महिना निकै सक्रिय देखिए। कहिले प्रहरी कार्यालयको अनुगमन त कहिले सडकमै उत्रिएर सवारीसाधनको प्रदुषण परीक्षणसम्म गरे उनले।
प्रहरी जवानसँगै खाना खान मेसमा पनि पुगे। साढे ३३ किलो सुन काण्डको अनुसन्धानमा ‘ठूलो माछा’ पक्रने दाबी गरिरहे। यातायात क्षेत्रको सिन्डिकेटमाथि डन्डा चलाउन कस्सिए। गृहमन्त्रीका रूपमा आफूले गर्ने ८२ बुँदे कार्ययोजना सार्वजनिक गरे।
तर एकाएक शान्त भए उनी।
उनी जे-जेमा कस्सिए पनि कार्यान्वयन पाटो सुस्त भयो। साढे ३३ किलो सुनकाण्डको अनुसन्धान चल्दाचल्दै बीचैमा रोकियो। समिति प्रतिवेदन बुझाएर हिँड्यो। प्रतिवेदन अलपत्र पर्यो। यातायात व्यवसायीको सिन्डिकेट तोडिएन। गृह प्रशासनमा सोचेजस्तो सुधार हुन सकेन।
‘आफ्ना योजना जस्ताको त्यस्तै कार्यान्वयन गर्न नसकिने देखिएपछि बोल्नुको अर्थ छैन भनेर उहाँ मौन बस्नुभएको हो,’ गृहमन्त्रीका रूपमा बादलले गरिरहेका कामको नजिकबाट हेरिएको स्रोतले भन्यो, ‘तर आन्तरिक रूपमा भने उहाँ सक्रिय नै हुनुहुन्छ।’
गृहमन्त्रीका रूपमा प्रधानमन्त्री ओली र प्रचण्डको चेपुवामा परेकाले पनि उनी निष्क्रियझैं देखिएको जानकारस्रोतले बतायो। प्रहरीको सरुवा-बढुवादेखि गृह प्रशासनको सामान्य निर्णयमा समेत प्रधानमन्त्री र प्रचण्डबाट फरकफरक निर्देशन आउन थालेपछि उनी निराश भएका हुन्।
बादलबाट काम नहुने देखेपछि प्रधानमन्त्री ओलीको समूहले गृहबाट गराउनुपर्ने काम जति सबै तत्कालीन गृहसचिव प्रेमकुमार राईबाट गराउन थालेका थिए। ओलीले चाहेको काम भटाभट हुने तर आफूले भनेको काम नभएपछि प्रचण्ड समूह उनीसँग बिच्किएका थिए।
सामान्य विषयमा समेत ओली-प्रचण्डबीच टकराव हुन थालेपछि बादल मौन बस्न थाले। त्यसको उदाहरण हो, जिल्ला प्रहरी कार्यालय चितवनको एसपी सरुवा।
चितवनका एसपी दानबहादुर मल्लको सरुवाप्रछि प्रचण्ड समूह असन्तुष्ट भएपछि उनको काज सरुवा बदरको प्रयासमा बादल मौन बसिदिए। प्रचण्ड समूहको आडमा मल्ल करिब एक महिना जिल्लामै बसिदिए। प्रदेश प्रहरी कार्यालयले सरुवा भएको जिल्लामा हाजिर हुन पत्र काटेपछि उनी जिल्ला छाड्न बाध्य भएका थिए। बादलले चाहेको भए मल्लको सरुवा स्थगित गरिदिनसक्थे। एसपीको सरूवाको अधिकार प्रहरी महानिरीक्षकको भएको भन्दै उनले चासो नै दिएनन्। प्रचण्ड समूह रिसायो।
बादलबाट आफूले भनेजस्तो काम नभएपछि प्रचण्ड समूह गृहमन्त्री परिर्वतनमा समेत सक्रिय भयो। जनार्दन शर्माले गृह मन्त्रालयमा नजर लगाएपछि बादललाई बदल्ने खेल भएको थियो। तर बादल बिच्क्याउन पार्टीभित्रको राजनीतिक समीकरण नै बिग्रने भएपछि प्रचण्ड उनलाई हटाउने निर्णयमा पुग्न सकेका थिएनन्। गृहमन्त्रीका रूपमा बादललाई कायमै राख्न प्रधानमन्त्री ओलीले साथ दिएका थिए।
‘प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेर बादल र मातृका यादवलाई हटाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको सूचना दुवै नेताले पाएका थिए,’ यो प्रकरणबारे जानकारस्रोतले भन्यो, ‘मातृकाजी हटाए हटौंला भनेर बस्नुभयो, हटाइयो, बादललाई प्रधानमन्त्री र पार्टीको आन्तरिक जोडघटाउले साथ दिँदा मन्त्री पद जोगियो।’
यही घटनापछि उनी प्रचण्डसँग केही टाढिएका हुन्। वैचारिक रूपमा उनी प्रधानमन्त्री ओलीलाई मन पराउँदैनन्। तर आन्तरिक पार्टी राजनीतिमा उनको साथ आवश्यक रहेकाले उनी विपक्षमा पनि बोल्दैनन्। जसले उनको छवि अलमले बनाउँदै लगेको छ।
पार्टीगत मोर्चामा अलमल
तत्कालीन माओवादी र एमालेबीचको एकता पछि बनेको नेकपामा अहिले पनि २ धार प्रष्टै छ। यो धारमा फेरबदल भइरहेका छन्। कतिपय अवस्थामा पूर्व एमालेका नेताले पूर्व माओवादीलाई साथ दिने र पूर्व माओवादीका नेताले पूर्व एमालेलाई साथ दिनेसम्म भएका छन्।
तर बादल मोर्चा चयनमा समेत अलमलमा देखिन्छन्। सचिवालय बैठकमा उनले निभाउने भूमिकाका आधारमा उनी नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीपक्षमा झैं देखिन्छन्। तर उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि चटक्कै छाड्न भने सकेका छैनन्।
‘प्रचण्ड’ रणनीतिअनुसारको गुटका भेलामा उनी कम देखिन थालेपछि माओवादी समूहका नेताले बादल ओलीको तेस्रो वरियताका सारथी भइसकेको व्याख्या गर्ने गरेका छन्। तर उनी गुट बदलेर पूर्व एमाले क्याम्पमै गएका हुन् भन्नेमा पूर्व माओवादी गुट पनि एकिन भने देखिँदैन।
माओवादीको गुटबाट मन्त्री बनेकाहरूप्रति ओली त्यत्ति सकारात्मक देखिएका छैनन्। तर बादलले नेतृत्व गरेको गृहमन्त्रालयबारे उनले त्यत्ति आलोचना गर्दैनन्।
यातायात सिन्डिकेट हटाउने प्रयास, तत्कालीन प्रहरी महनिरीक्षक सर्वेन्द्र खनालको कमजोर कार्यक्षमता, निर्मला पन्तको बलात्कार र हत्या घटनाको असफल अनुसन्धानले गृहमन्त्री बादलको नेतृत्व क्षमतामाथि पनि प्रश्न उठाएकै थियो। तर प्रधानमन्त्रीले प्रश्न उठाएनन् उनीमाथि।
ओलीले उनलाई पार्टी राजनीतिमा समेत महत्वपूर्ण जिम्मेवारी दिन संगठन विभाग प्रमुखको प्रस्ताव गरेको सार्वजनिक भएको थियो। अर्का अध्यक्ष प्रचण्डले बामदेव गौतमलाई संगठन विभाग प्रमुख प्रस्ताव गरेपछि बादल पछि हटेका थिए।
ओलीको व्यवहारले बादल पूर्व एमाले गुटप्रति नरम देखिएका छन् भन्न सकिन्छ। तर बादलको मौनताले उनी पार्टीभित्रको गुट संघर्षमा कतातिर छन् भन्ने एकिन गर्न हम्मे छ।
बदलिइरहने बादलको मुड
बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने-नलैजाने विवादमा बादल ओलीको पक्षमा देखिए। गौतम कहिले राष्ट्रियसभामा जान्नँ भन्ने कहिले जान्छु भन्ने गरेकोमा आलोचना गर्दै उनले नेता जहिल्यै आफ्नो अडानमा अडिग हुनुपर्ने धारणा राखेका थिए। यसले उनको समर्थन ओलीतिर देखियो।
तर, गत फागुन अन्तिम साता पर्वत प्रहरी भवन उद्घाटन कार्यक्रममा एमसीसी संसदबाट पारित हुँदै नहुने अभिव्यक्ति दिए। एमसीसी अमेरिकी साम्राज्यवादीले चीनलाई घेर्ने रणनीति अनुरुप ल्याएको भन्दै थापाले संसदबाट पारित गरे चीनसँगको सम्बन्ध बिग्रने दाबीसमेत गर्न भ्याए। यो प्रचण्ड लाइनको बोली थियो।
नेकपाभित्रको पूर्व माओवादी गुटका एक नेताका अनुसार बादल प्रायः प्रचण्डले आयोजना गर्ने गुटगत भेलामा सहभागी हुन्नन्। तर पूरै अलग नै छन् भन्ने होइन।
‘हामीले राख्ने कतिपय छलफलमा बादलजी कम मात्र आउनुभएको छ,’ प्रचण्डनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘सभामुख प्रकरणमा माओवादी समूहले लिने अडानमा सहमत हुनुहुन्न जस्तो देखिएको थियो तर अन्तमा भेलामा आउनुभएको थियो।’
अन्य पक्षको कुरै छाडौं, बादल निकट नेताहरू पनि उनी कतातिर छन् भन्ने अन्यौलमै देखिए। बादल कम बोल्ने स्वभावका भएकाले उनी कुन लाइनमा छन् भन्ने बुझ्न कठिन हुने उनी निकट एक नेताले बताए।
‘उहाँ अन्तर्मुखी स्वभावको हुनुहुन्छ। नेताहरुसँग खुलेर बहस, छलफल गर्नु हुन्न,’ ती नेताले भने, ‘पार्टीमा लाईन होस् वा पार्टी छोड्दा अन्तिममा निर्णय लिनु हुन्छ। र छलफल नगर्ने भएकाले यता र उता भन्नै सकिन्न।’
नेकपा केन्द्रीय सदस्य नारायण दाहालले बादल अध्यक्ष प्रचण्डलाई छोडेर अर्को समूहमा जान नसक्ने दाबी गर्छन्। ‘अध्यक्ष ओली प्रधानमन्त्री पनि हुनुहुन्छ। काम कारबाही गर्ने सवालमा नजिक हुनु स्वाभाविकै हो,’ दाहालले भने, ‘प्रचण्ड पार्टीको अध्यक्ष हुनुहुन्छ उता पनि नजिक हुनु पर्यो।’
सिंहदरबार हुँदा प्रधानमन्त्री ओलीसँग र पार्टी कार्यालय हुँदा अध्यक्ष प्रचण्डसँग बादल नजिक हुनु स्वाभाविकै भएको उनको तर्क छ। उनले प्रचण्ड र बादलको सम्बन्ध राजनीतिक-वैचारिक मात्र नभई पारिवारिक र भावनात्मकसमेत भएको तर्क गर्दै तत्कालीन माओवादी नेताहरु अध्यक्ष प्रचण्डसँगै एक ढिक्का हुने दाबी गरे।
वैचारिक बहसमा गुमनाम
माओवादी जनयुद्धमा मात्रै होइन, शान्ति प्रक्रियामा आएपछि बादल वैचारिक बहसमा सधै सक्रिय सहभागी हुन्थे। उनको सागठनिकमात्रै होइन, वैचारिक क्षमताको समेत नेता कार्यकर्ताले प्रशंसा गर्थे।
जब प्रचण्डले क्रान्तिलाई धोका दिएको भन्दै पार्टी फुटाएर गइसकेपछि पनि पुनः माओवादीमा फर्किए उनी वैचारिक बहसमा त्यति सहभागी हुने गरेका छैनन्। पार्टी एक भएपछि पूर्व एमाले समूह पार्टी विचार जनताको बहुदलीय जनवाद हुनुपर्नेमा छ। आन्तरिक र बाह्य दुवै मोर्चामा मौन छन् यसबारे। सार्वजनिक कार्यक्रममा गर्ने सम्बोधनमा पनि उनको हिजोको न लय मिल्छ, न ताल नै।
बादल निकट बागमती प्रदेशका सांसद रत्न ढकालले बादल वैचारिक बहसमा संलग्न हुने बेला नभएको दाबी गरे।‘पार्टीको वैचारिक लाइन के हुने भन्ने विषयमा महाधिवेशनमा गर्ने भनिएको छ। यो बेला वैचारिक बहस गर्ने बेला पनि होइन,’ ढकालले भने, ‘समय आएपछि बादल कमरेडले पार्टीको वैचारिक लाइन के हुने भन्नेमा आफ्ना धारणा राख्नुहुन्छ।’
तर पार्टीको विचार, लाइन र समाजवादी क्रान्तिप्रति बादलको विचार स्पष्ट भएको ढकालको दाबी छ। अर्का केन्द्रीय सदस्य सूर्य सुवेदीले बादलको स्वभावका कारण कम बोल्दा यस्तो आरोप लाग्ने गरेको बताउँदै भने,‘बादल कमरेडको कम बोल्ने स्वभाव छ। उहाँ सितिमिति बोल्नु हुन्न। समय आएपछि बोल्नु हुन्छ, त्यो नै निर्णायक हुन्छ।’
गृहमन्त्री थापाका सहोदर भाइ नरेश थापा डिल्लीबजार कारागारमा जेलजीवन बिताइरहँदा पनि उनको बचाउका लागि कुनै प्रयास नगरेको भन्दै गृहमन्त्री बादलले प्रशंसा पनि पाएका छन्। मन्त्रालयभन्दा बाहिरका गतिविधिमा खासै चासो नदिने भन्दै उनको प्रशंसा गर्ने पनि थुप्रै भएको उनीनिकट स्रोतको दाबी छ। व्यापारीलाई धम्क्याएर रकम असुलीमा सक्रिय समूहमा संलग्न देखिएका गृहमन्त्री थापाका भाइ नरेशलाई उच्च अदालत पाटनले जिल्ला अदालतको आदेश उल्टाएर धरौटी खारेज गर्दै पुर्पक्षका लागि थुनामा पठाएको हो।
निर्वाचन क्षेत्रै लफडा
बादलको जन्मभूमि गुल्मी, राजनीतिक कर्मथलो काठमाडौ भए पनि निर्वाचन क्षेत्र चितवन क्षेत्र नम्बर २ हो। त्यस क्षेत्रमा बादलले ०६४ सालको संविधान सभा निर्वाचनमा चुनाव जितेका थिए।
दोस्रो संविधान सभा निर्वाचनमा बादल–वैद्य नेतृत्वको माओवादीमा लागेर चुनाव बहिस्कार गरे। त्यस निर्वाचन क्षेत्रबाट तत्कालीन एमाले नेता कृष्णभक्त पोखरेल निर्वाचित भए। गत ०७४ को निर्वाचनमा बादलले आफ्नो घरसमेत त्यही भएकाले छोड्न मानेका थिएनन् । बादल त्यहाँबाट निर्वाचन उठ्दा आफूलाई असर पर्ने देखेपछि प्रचण्डले नवलपुरबाट उठ्न प्रस्ताव गरे। आफ्नो निर्वाचन छोडेर बाहिर नजाने बादलले अडान लिएपछि प्रचण्डले राष्ट्रिय सभाबाट गृहमन्त्री बनाउन सहयोग गरे ।
अहिले फेरि बादलले आफ्नो निर्वाचन क्षेत्र चितवन २ भएको बारम्बार अभिव्यक्ति दिँदै आएका छन् यस विषयले बादलभन्दा धेरै प्रचण्डको टाउको दुखाइ हुन थालेको छ ।
चितवनमा माओवादीभन्दा एमाले समूहको जनमत बलियो भएकाले तीन क्षेत्रमध्ये दुई क्षेत्रबाट प्रचण्ड-बादलले मात्रै निर्वाचन जित्न गाह्रो छ। आफ्नो निर्वाचन क्षेत्र सुरक्षित बनाउन प्रचण्डले सबैभन्दा धेरै मेहनत गरिरहेका छन्। उनी एमाले समूहका नेतासँग सम्बन्ध बढाउने र चितवनमा हुने स-साना कार्यक्रममा समेत सहभागी हुँदै आएका छन्।
प्रचण्डले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यद्वय देवी ज्ञवाली र कृष्णभक्त पोखरेलसँग सम्बन्ध सुमधुर बनाएका छन्। आफ्नो निर्वाचन क्षेत्र सुरक्षित बनाउन भरतपुरको मेयरमा छोरी रेणु दाहाललाई ल्याउन ठूलै मिहिनेत गरेका थिए।
दाहाल निर्वाचित भएपछि आफ्नो बुबाको निर्वाचन क्षेत्रको विकास निर्माण काम सघाउँदै आएकी छिन्। तर अर्को निर्वाचनमा प्रचण्डलाई बादल, सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, देवी ज्ञवालीलगायत नेतालाई मिलाउन हम्मेहम्मे हुने देखिएको छ। प्रचण्डको यो मनोभाव बुझेका बादल भोलिका दिनमा प्रचण्डबाट साथ नपाए पूर्व एमालेको साथ लिनसमेत अहिले मध्यमार्गी देखिएका हुनसक्छन्।
संघ र प्रदेशमा बादलको शक्ति कति?
संघीय सरकारमा बादल आफैं गृहमन्त्री छन्। प्रदेश १ मा उनी पक्षका इन्द्र आङबो आर्थिक मामिला एवम् योजना मन्त्री छन् भने उपसभामुख सरस्वती पोखरेल छिन्। यस्तै गण्डकी प्रदेशमा आर्थिक मामिला एवम योजना मन्त्री हरिबहादुर चुमान छन्। प्रदेश नम्बर पाँचमा आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी छन् भने सभामुख पूर्ण घर्ती छन् ।
यस्तै कर्णाली प्रदेश आर्थिक मामिला एवम योजना मन्त्री नरेश भण्डारी छन् भने सुदुरपश्चिम प्रदेश उपभामुखमा निर्मला बडाल जोशी छन्।
सात प्रदेशमध्ये बादल समूहबाट प्रदेश एकबाट सह-इन्चार्ज सावित्रीकुमार काफ्ले, सचिवमा सुरेश कुमार राई हुन्। यस्तै सुदूरपश्चिम प्रदेशबाट सह इन्चार्ज लक्ष्मीदत्त जोशी र सचिवमा नेतवहादुर चौधरी बादल समुहबाटै भएका छन्। कर्णाली प्रदेश सचिव मायाप्रसाद शर्मा बादल समूहबाटै परेका छन्। यस्तै कुल ७७ जिल्ला अध्यक्ष र सचिवमध्ये तत्कालीन माओवादीले ३३ अध्यक्ष र ४४ सचिव पाएको थियो। जसमध्ये बादल पक्षमा २५ जना अध्यक्ष र सचिव छन् ।
नेकपाका २२ जनवर्गीय संगठनमा तत्कालीन माओवादीले ६ जनवर्गीय संगठनको मात्रै नेतृत्व पाएको छ। जसमा बादलपक्षीय जनवर्गीय संगठनको बाहुल्यता छ। बादलपक्षीय जनवर्गीय संगठनको नेतृत्व पाउनेमा महिलामा अमृता थापामगर, प्रेस संगठनबाट महेश्वर दाहाल, आदिवासी जनजातिबाट सुरेश आलेमगर छन् ।
केन्द्रीय कमिटीमा बादलपक्षीय ३१ सदस्य
सचिवालयमा बादलमात्रै छन्। स्थायी समितिमा देव गुरुङ र पम्फा भुसालमात्रै उनी निकट मानिन्छन्। केन्द्रीय समितिमा भने बादलपक्षधर ३१ जना छन्।
केन्द्रीय समितिमा अमृता थापामगर ,इन्द्र आङ्बो, इन्द्रजित थारू, कुमारी मोक्तान, कुलप्रसाद केसी, डाचाराज वाग्ले, तारा घर्ती, दामा शर्मा, दिलिप महर्जन, नरेश भण्डारी, नारायणप्रसाद शर्मा पौडेल, नेपबहादुर चौधरी, पर्शुराम रम्तेल, पार्वती थापा, मनोज थापा, महेश्वर दाहाल, मायाप्रसाद शर्मा, यशोदा सुवेदी, युवराज भट्टराई, रामदीप आचार्य, लक्ष्मण पन्त बादलनिकट हुन्।
यस्तै, लक्ष्मीदत्त जोशी, लेखनाथ न्यौपाने, सावित्रीकुमार काफ्ले, सुरेश आलेमगर, सूर्यप्रकाश सुवेदी पथिक, श्रीराम ढकाल, हरिबहादुर चुमान, हितमान शाक्य, हेमराज शर्मा डाईमन, ज्ञानु बस्नेत पनि बादल निकट हुन्।
प्रचण्ड-बादल उकाली ओरालीको सम्बन्ध
प्रचण्ड-बादल सम्बन्ध उकालीओराली हुँदै आएको छ। यी दुवैकाे सम्बन्धको पृष्ठभूमि हेर्ने हो भने यो प्रष्टै देखिन्छ।
चितवन रामपुर क्याम्पस पढ्दाताका नै प्रचण्डको भेट बादलसँग भएको थियो। प्रचण्डकै प्रेरणाले बादल पनि पढ्दापढ्दै राजनीतिमा जोडिए। प्रचण्डले नै बादललाई ०३७ सालमा पार्टी सदस्यता दिए।
बादललाई पार्टी सदस्यता दिँदा प्रचण्ड प्रस्तावक अनि अमिक शेरचन समर्थक थिए। पञ्चायत हुँदै बहुदलसम्म प्रचण्ड बादलको सम्बन्ध लोभलाग्दो भएको एक पूर्व माओवादी एक नेता बताउँछन्।
माओवादीले ०५२ फागुन १ मा जनयुद्धमा जाने घोषणा गर्दा प्रचण्ड-बादलको सम्बन्ध सुमधुर थियो। जनयुद्धमा रोल्पा–रुकुम मगरको बस्ती भएकाले बादलको प्रभाव बढ्दै गएपछि प्रचण्डलाई जलन सुरु भयो र ‘लिनप्याओवाद प्रवृत्ति’ को आरोप लाग्यो।
माओवादी विचारका नाममा चिराचिरा हुन थाल्दै गर्दा ०६२ असोजमा भएको चुनवाङ बैठकमा प्रचण्ड, बाबुराम र बादल एक ठाउँ उभिएका थिए।
बाबुराम र बादल दुवैले आफूहरू प्रचण्डमै विलिन भएको अभिव्यक्ति दिए। बैठकमा बादलले रुँदै प्रचण्डमै विलय भएको भन्दै अध्यक्षकै निर्देशनमा अधिकतम खरो उत्रने घोषणा गरेका थिए। चुनवाङ बैठकपछि प्रचण्ड-बादलको विवाद साम्य भएको थियो।
प्रचण्ड र बादलको सम्बन्ध ठिक हुँदाहुँदै प्रचण्डलाई एक्ल्याउन मोहन वैद्य, बाबुराम भट्टराई, बादललगायत नेता एक ठाउँमा उभिएपछि प्रचण्ड गल्न पुगेका थिए। उनी प्रचण्डसँग नजिक हुँदाहुँदै पनि ०६८ सालमा भएको धोबीघाट गठबन्धनले दुवैको दूरी बढायो। बादल ०६९ मा मोहन वैद्य नेतृत्वको माओवादीमा सहभागी भएपछि प्रचण्ड र बादलको सम्बन्ध तोडियो।
वैद्यसँग हुँदा २०७० को निर्वाचनमा प्रचण्डलाई हराउन बादल सक्रिय थिए। संविधानसभाबाट संविधान घोषणापछि ०७३ मा बादलले वैद्यलाई छोडेर प्रचण्डतिर आए। निर्वाचनमा उठ्न बादलले निर्वाचन क्षेत्र नपाएपछि राष्ट्रियसभाबाट गृहमन्त्री भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।