काठमाडौं- कञ्चनपुरको नेपाली भूभाग भारतमा गाभिएको भन्दै गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाइएको छ। नेपाल-भारत संयुक्त सीमा सर्भे टोलीले सीमा रेखाङ्कन गर्दा मुख्य सीमा स्तम्भ (जंगे पिलर)लाई आधार बनाएर स्ट्रिप नक्शा बनाउनु पर्नेमा सो नगरी कञ्चनपुरका केही स्थान भारतमा गाभिएको भन्दै ज्ञापनपत्र बुझाइएको हो।
कञ्चनपुरका ऐतिहासिक नेपाली भू–भागका सयौै हेक्टर जग्गा भारत तिर पर्ने गरी एकतर्फी रूपमा स्ट्रिप नक्शा बनाइएको पाइएको ज्ञापनपत्रमा उल्लेख छ।
स्ट्रिप नक्शा तयार गर्न नेपालको तर्फबाट खटिएको तत्कालीन सीमा सर्भे टोलीले नेपाली सरोकारवालाहरुसँग कुनै सम्बन्ध नराखी भारतीय पक्षको टोलीसँग भारततिरै बसेर नेपाली भूभाग भारतमा मिसाएको आरोप ज्ञापनपत्रमा लगाइएको छ।
भारतीय पक्षबाट ब्रिटिस सरकारका पालाको भन्दै गलत नक्सा पेश गरिएको र सोही नक्सालाई नेपाली पक्षको नापी टोलीले स्वीकार गरी स्ट्रिप नक्शा तयार गरिएकाले यस्तो समस्या उत्पन्न भएको ज्ञापन पत्रमा उल्लेख छ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री बादलले यो विषय संवेदनशील रहेको भन्दै यसबारेमा आफूहरु गम्भीर रहेको बताए।
यसबारे के कसो भएको हो, त्यस सम्बन्धमा नापी विभागका महानिर्देशकलाई समेत बोलाएर आफूले तत्कालै बुझ्ने बताएका गृहमन्त्री थापाले गृह, पराराष्ट्र र भुमिसुधार मन्त्रालयले समन्वय गरेर टुंगोमा पुर्याउने प्रतिबद्धता गरेका छन्।
ज्ञापनपत्रको पूर्णपाठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।