काठमाडौं- सधैंजसो भारी बोकेर भोटेबहालको पिपलबोट छेउछाउका पसल वरिपरि भेटिने धादिङका ५७ वर्षीय बेलमान घर्ती यतिबेला बेरोजगार छन्।
कहिले इलेक्ट्रिक सामानको भारी त कहिले कपडाको भारी बोकेर ओहोरदोहोर गरिरहने बेलमानको थाप्लोमा नाम्लो पिठ्युको भार त कम छ तर चिन्ताको भारीले थिचेको छ।
‘कपडा फ्याक्ट्रीहरूले पनि काम छैन भन्छन्। नाका बन्द भएर केही सामान नै आएन रे। खै के रोग पो फैलिएको छ भन्थे, त्यसैले गर्दा होला,’ उनले सुनाए।
दिनभर भारी बोकेर बेलुकाको छाक टार्ने बेलमानले पसिना बगाउँछु भन्दा पनि पाएका छैनन्। ‘भारी बोक्छु भन्दा पनि नपाउने कस्तो समय आयो–आयो? अब हामीले के खाने?,’ उनले चिन्ता प्रकट गरे।
कोरोना भाइरस संक्रमणका कारण विभिन्न देशबाट भारत र चीनका नाका हुँदै आयात हुने सामानमा असर परेको छ। चीनबाट नेपाल आउने रसुवागढी नाका बन्द भएको छ। यसको प्रत्यक्ष असर बेलमान जस्तै भारी बोकेर गुजारा गर्नेहरूमाथि परेको छ। कोरोना संक्रमणले उनीहरूको भारी पनि खोसिएको छ। गुजारा गर्ने पेसा धरापमा परेको छ। चिन्ता थपिएको छ।
कामको सिजनमै त्रास
विदेशीका ठूलाठूला झोला बोकेर हिमाल, पहाड, उकाली ओराली छिचोल्दै पसिना चुहाउँदै हिडिरहेका सोलुखुम्बुका नोर्बु शेर्पा यतिबेला काठमाडौंमा भौतारिइरहेका छन्।
‘ट्रेकिङको काम विदेशी आए त हुने हो, भाइरसले विदेशी हराए जागिरै हरायो। दिनहरू काठमाडौंमै बितिरहेका छन्,’ नोर्बुले दुखेसो सुनाए।
नोर्बुले गर्ने जस्तो ट्रेकिङ गाइडको काम मौसमी हो। हिउँदभरको कमाईले वर्ष धान्नुपर्ने हुन्छ। ‘यो हिउँदको सिजन हो। वर्षातमा न ट्रेकिङको काम हुन्छ, न गाइड। तर सिजनकै बेला भाइरस फैलिएर खत्तम नै भयो,’ नोर्बुले नेपाल लाइभसँग बह राखे।
नोर्बुजस्ता ट्रेकिङ र टुरिस्ट गाइडको काम गरेर गुजारा गर्नेहरू दुई महिनादेखि बेरोजगार बनेका छन्। अब के गर्ने भन्ने चिन्ता उनीहरूमा थपिएको छ।
नोर्बु र बेलमान कोरोनाका कारण नेपाली श्रम बजारमा रोजगारी खोसिएका प्रतिनिधि पात्र मात्रै हुन्। उनीहरु जस्ता हजारौँको संख्यामा युवा प्रभावित बनेका छन्। होटल, रेस्टुराँ, पर्यटन, मनोरञ्जन, आतिथ्यता सत्कारलगायत क्षेत्रमा काम गर्ने कतिपय श्रमिक रोजगारदाताले कटौती सुरु गरेका छन् भने कतिपयको रोजगारी धरापमा छ। अझै केही समय कोरोना संक्रमणको जोखिम कायमै रहने हो भने नेपालमा आर्थिक संकटको सिर्जना हुने अर्थविद्हरु बताउँछन्।
परदेशको बाटो अनिश्चित
कोभिड-१९ (कोरोना भाइरस)ले महामारि रूप लिँदै गएपछि सरकारको उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि श्रम स्वीकृति बन्द गरेको छ। रोजिरोटीको खोजिका लागि वैधानिक रूपमा मात्रै १ सय ७२ वटा मुलुक पुग्ने नेपालीहरूको बाटो अनिश्चितकालका लागि बन्द भयो। रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बिहीबार बसेको बैठकले अर्को निर्णय नहुँदासम्मका लागि श्रम स्वीकृति स्थगित गरेको हो। श्रम स्वीकृति स्थिगित भएपछि दैनिक करिब १२ सयको हाराहारीमा श्रम स्वीकृति लिएर विदेशीने युवा यतिबेलामा अलपत्र परेका छन्।
‘देशमा काम छैन। परदेश जाने बाटो रोकिएको छ। के गरेर समय कटाउने भन्ने चिन्ता छ,’ कतारको भिसा आइसकेको अवस्थामा स्थगित भएपछि सर्लाहीका हरिदेव मण्डल चिन्तित छन्। उनीजस्ता थुप्रै युवाहरू परदेशको बाटो रोकिएपछि चिन्तामा छन्। परदेशमा रहेकाहरू पनि स्वदेश फर्किएपछि पुनः वैदेशिक रोजगारीमा जान पाउने टुंगो नभएपछि करार अवधि सकिएर पनि काम गरिरहेका छन्।

कोरोनाका कारण गन्तव्य मुलुकको बाटो अनिश्चितकालीन बन्द हुँदा हजारौँ श्रमिकहरुको भिसा र टिकट स्थगित भएको छ।
गन्तव्य मुलुकले नेपाली प्रवेशमा रोक नलगाएको अवस्थामा नेपालले बन्द गर्दा नेपाली श्रमिकहरूले तिरिसकेको पैसा गुम्ने खतरा निम्तिएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैह्रेले बताए। श्रम स्वीकृति स्थगितपछि श्रमिकले बुझाइसकेको भिसा तथा टिकट लगायतको रकम नगुम्ने गरी सरकारले कुटनीतिक पहल गर्नुपर्ने अध्यक्ष गैह्रेको भनाइ छ।
धरापमा रेमिट्यान्सले धानेको अर्थतन्त्र
नेपालको अर्थतन्त्रमा करिब एक चौथाई योगदान पुर्याउँदै आएको विप्रेषण (रेमिट्यान्स) मा कोरोना भाइरसले प्रत्यक्ष प्रभाव पारेको छ। तत्काल असर नदेखिए पनि केही समयपछि नेपालको अर्थतन्त्रमा जटिल अवस्था सिर्जना हुने अर्थविद् डा डिल्लीराज खनाल बताउँछन्। ‘रेमिट्यान्स घट्दा आयात पनि घट्ने, सरकारको खर्च गर्ने वैंकले लगानी गर्ने क्षमता घट्ने लगायत बहुआयामिक क्षेत्रमा यसको असर पर्ने हुँदा नेपालको अर्थतन्त्रमा ठूलो धक्का लागेको छ,’ खनालले भने।
विप्रेषण आप्रवाह नै नेपालको वित्तीय साधन परिचालनको दायरा थप विस्तार भएको छ भने कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको योगदान २५ दशमलव ५ प्रतिशत छ। नेपालको गरिबी न्यूनिकरणमा रेमिट्यान्सको ठूलो भूमिका छ।
आर्थिक वर्ष २०६०/०६१ मा ३० दशमलव ९ प्रतिशत रहेको गरिबीको संख्या घटेर आर्थिक वर्ष २०७४/०७५ मा १८ दशमलव ७ प्रतिशतमा झरेको छ। यसको प्रमुख कारण विप्रेषण आप्रवाह रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ। कोरोना भाइरस संक्रमणका कारण यस वर्ष रेमिट्यान्स आप्रहवामा आउने गिरावटसँगै देशको आर्थिक वृद्धिदरमा पनि गिरावट आउने निश्चित छ।
देशको आर्थिक वृद्धिदरसमेत घट्ने अर्थविद् डिल्लीराज खनाल बताउँछन्। ‘यो वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने अपेक्षा थियो। कोरोना संक्रमणको असर कतिसम्म हुन्छ, महिनौँ बढ्दै गयो भने आर्थिक वृद्धिदरको अवस्था लक्ष्यभन्दा आधा घट्ने देखिन्छ,’ अर्थविद् खनालले भने। एक महिना मात्रै वैदेशिक रोजगारी रोकिए पनि अर्बौं रेमिट्यान्स गुम्ने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैह्रे बताउँछन्।
आन्तरिक श्रम बजार बलियो नहुँदा निम्तियो संकट
सरोकारवालाहरूले देशको आन्तरिक श्रम बजार बलियो नहुँदा वैदेशिक रोजगारी तत्कालका लागि स्थगित गर्दा पनि संकटापन्न अवस्था सिर्जना भएको सरोकारवालाहरू बताउँछन्।
‘आन्तरिक रोजगारीमै आत्मनिर्भर हुन सकिने अवस्था थियो भने गन्तव्य मुलुकले केही समयका लागि आवागमनमा रोक लगाउँदा डराउनु पर्ने अबस्था थिएन। आन्तरिक श्रम बजार बलियो नहुँदा अहिले नेपालमा जटिल अवस्था सिर्जना हुने देखिएको छ,’ राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँल भन्छन्। अब सरकारले आन्तरिक रोजगारीमै आत्मनिर्भर हुन सक्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।
‘वैदेशिक रोजगारी रोकेर रोकिने कुरा त होइन तर यसलाई व्यवस्थित गर्न सकिन्छ। वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनका लागि आन्तरिक रोजगारीको पाटो बलियो बनाउनुपर्दछ,’ फुँयालले भने। आन्तरिक रोजगारीलाई बलियो बनाउन उद्योग, कलकारखानाको विकासमा जोड दिनुपर्ने अर्थविद् डिल्लीराज खनालको जोड छ।
‘देशमै प्रशस्त रोजगारी सिर्जना गर्न उद्योग, धन्दा तथा कलकारखाना विकासमा जोड दिनुपर्छ। युवाहरुको सीप विकासमा पनि जोड दिन आवश्यक छ,’ अर्थविद् खनालले थपे। सरकारले देशमा लगानीको वातावरण बनाउनुपर्ने उनको भनाइ छ।
आन्तरिक रोजगारी व्यवस्थापनमा जोड : मन्त्री यादव
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले पनि आन्तरिक रोजगारी सिर्जना नहुँदा समस्यामा रहेको नेपाली श्रम बजार कोरोनाका कारण थप चुनौतीमा परेका छन्।
श्रम बजारमा संकट आउन नदिन वार्षिक रूपमा आउने ५ लाख जनशक्तिलाई देशभित्रै व्यवस्थापन गर्न पहल गर्ने मन्त्री यादवले बताए। मन्त्री यादवले भने, ‘मैले मन्त्री पद ग्रहण गरेको दिन नै भनेको थिएँ। नेपाली श्रम बजारमा हरेक वर्ष आउने ५ लाख जनशक्तिलाई देशभित्रै व्यवस्थापन गर्न जोड दिनुपर्छ।’ सरकारले अब जनशक्तिलाई देशमै व्यवस्थापन गर्ने कार्यक्रम विस्तारै अघि बढाउँदै लैजाने मन्त्री यादवले बताए। कोरोनाले पार्ने असरबारे नजिकबाट अध्ययन गरिरहेको मन्त्रालयले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।