काठमाडौं- सहिद स्मारक बि डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम (आरसिटी) ले पहिलो जित निकालेको छ।
शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आरसिटीले मध्यपुर युथ एसोसिएसनलाई ३–० गोलअन्तरले पराजित गरेको हो। आरसिटीको जितमा अजित गुरुङले ह्याट्रिक गोल गरे।
पहिलो हाफमा एक गोल गर्दै अग्रता दिलाएका अजितले दोस्रो हाफमा थप दुई गोल गर्दै आरसिटीलाई जारी लिगमा पहिलो जित दिलाए। अजितले खेलको सातौं मिनेटमा गोल गरेका थिए।
खेलको ४९औं मिनेटमा अजितले दोस्रो गोल गर्दा आरसिटी मध्यपुरविरुद्ध २–० गोलले अघि रह्यो। खेलको ९०औं मिनेटमा अजितले अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे। योसँगै आरसिटीले मध्युर युथ एसोसिएसनलाई ३–० गोलअन्तरले पराजित गर्न सफल भयो।
त्यस्तै, आजै भएको अर्को खेलमा सातदोबाटो युथ क्लबले ब्वाइज युनियन क्लबलाई १–० गोलअन्तरले पराजित गरेको छ। सातदोबाटोको जितमा दिनेश राईले खेलको १४औं मिनेटमा गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।