काठमाडौं- इंग्लिस प्रिमियर लिगसहित इंग्ल्याण्डमा सबै ठूला प्रतियोगिताहरु स्थगित गरिने निर्णय भएको छ। कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा कम्तिमा अप्रिल ३ सम्मका खेलहरु स्थगित गरिने र त्यसपछि बाँकी निर्णय हुने बताइएको छ।
प्रिमियर लिगसँगै, इएफएलका खेलहरु, एफए महिला सुपर लिग, महिला च्याम्पियनसिप जस्ता सबै खेलहरु नयाँ मितिमा गरिने बताइएको छ।
प्रिमियर लिग स्थगित भएको केही समय अगाडि मात्रै च्याम्पियन्स लिग र युरोपा लिगका खेलहरु स्थगित गरिने युइएफले जनाएको थियो। युरोपियन फुटबलसहित अन्य ठूला प्रतियोगिताहरु पनि स्थगित भएका छन्।
यसका साथै मार्च २७ मा हुने इटाली र इंग्ल्याण्डबीचको खेल साथै त्यसको चार दिनपछि डेनमार्कसँग हुने खेल पनि स्थगित गरिएको छ।
खेलहरु स्थगित गर्नुका साथै क्लबहरुका समर्थक भेटघाट, ठूला जमघट, सामूहिक खेल अभ्यास लगायतका गतिविधि नगर्न पनि भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।