नयाँ दिल्ली– प्रधानमन्त्रीमा निर्वाचित भएपछि आफ्नो पहिलो विदेश भ्रमणका क्रममा शुक्रबार भारत पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज महत्वपूर्ण भेटवार्ता गर्ने भएका छन्। भारत भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओलीले बिहान भारतीय राष्ट्रपति रामनाथ कोबिन्दलाई भेट्ने कार्यक्रम रहेको दिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ।
प्रधानमन्त्री ओलीलाई भारतीय राष्ट्रपति भवन अगाडि भारतीय सेनाले सलामी दिनेछ। सलामी ग्रहणपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति कोबिन्दका साथै उप–राष्ट्रपति वेन्कैय नाइडुलाई पनि भेट्नेछन्।
राष्ट्रपति एवम् उपराष्ट्रपतिसँगको भेटवार्तापछि उनले राजघाटमा रहेको महात्मा गान्धीको समाधिमा श्रद्धाञ्जली अपर्ण गर्ने तालिका रहेको छ।
केहिबेरको विश्रामपछि प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई औपचारिक रुपमा भेट्ने कार्यक्रम तय गरिएको छ। यसअघि शक्रबार साँझ पनि प्रधानमन्त्री मोदीको निवासमा दुबै राष्ट्रप्रमुखबीच झण्डै डेढ घण्टा अनौपचारिक भेटवार्ता भएको थियो।
शनिबार दिउँसो आफ्ना नेपाली समकक्षी प्रधानमन्त्री ओलीको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गर्नेछन्।
दिवाभोजपछि ओलीले भारतीय क्याबिनेटका सदस्यलाई भेट्ने छन् भने भारतका विभिन्न पार्टीका नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तालिका तय भएको छ।
भ्रमणको दोस्रो दिन उच्च स्तरीय भेटघाटपछि दुवै देशका प्रधानमन्त्रीले शनिबार साँझ संयुक्त वक्तव्य जारी गर्ने तालिका पनि सार्वजनिक भएको छ। सोहि अवसरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा नेपालको बिरगञ्जमा भारतीय सहयोगमा बनेको ‘इन्टिग्रेटेड चेक पोष्ट’को उद्घाटन गर्नेछन्।
बेलुकी ‘इण्डिया फाउन्डेसन’ले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओली सरिक हुने कार्यक्रम छ।
यसअघि शुक्रबार बिहान ११ बजे इन्दिरा गान्धी अन्र्तराष्ट्रिय विमानस्थलमा उत्रिएका प्रधानमनत्री ओली दिनभरजसो व्यस्त रहे। भारतीय गृहमन्त्री राजनाथ सिंहले विमानस्थलमा स्वागत गरेपछि ओलीले दिउँसो १ बजे भारत र नेपालका व्यापारिक समूहसँग करिब २ घन्टा अन्र्तक्रिया एवं छलफल गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओलीले नेपाल किन लगानीमैत्री छ भन्नेबारे २५ बुँदे आधार प्रस्तुत गरेका थिए।
साँझ ५ बजे भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह सहितको टोलीसँग भेटवार्ता गरेपछि प्रधानमन्त्री ओलीले भारतस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा भारतमा रहेका नेपाली समुदायलाई सम्बोधन गरेका थिए।
प्रधानमन्त्री ओली आफ्नो ३ दिने भारत भ्रमण सकाएर भोलि स्वदेश फर्किने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।