काठमाडौं- नेपाल राष्ट्र बैंकले श्रम ऐनमा भएका व्यवस्थालाई संबोधन गरेर कर्मचारी सेवा विनियमावलीको परिमार्जन गरेको छ। राष्ट्र बैंकले पछिल्ला कानुनसँग तादम्यता मिल्नेगरी विनियमावली परिमार्जन गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए।
परिमार्जित विनियमावलीले बैंकका कर्मचारीको सुरक्षालाई सबैभन्दा धेरै प्राथमिकता दिएको उनले बताए। यस विनियमावलीले सम्पूर्ण बैंकहरुको कर्मचारी विनियमावलीमा एकरुपता प्रदान गर्ने ढकालले बताए।
यसै परिमार्जित नमूनाका आधारमा बैंकहरुले आफ्नो कर्मचारी विनियमावली तयार पार्नुपर्ने हुन्छ। बैंकहरुले आफ्ना कर्मचारीहरुको सामाजिक सुरक्षा सेवा सुविधामा पहिलाको भन्दा कडाइका साथ लागू गर्ने भएका छन्।
विनियमावलीमा बैंकका कर्मचारीलाई नियुक्ति हुँदा तत्काल लागू रहेको पारिश्रमिक भत्ता उपदान र अन्य सुविधा तथा सेवाका शर्तहरुका सम्बन्धमा सम्बन्धित कर्मचारीको स्वीकृतिबाहेक प्रतिकुल असर पर्नेगरी परिवर्तन गर्न नपाइने भएको छ।
चाडपर्वको उपलक्ष्यमा प्रदान गरिने तलब भत्ता सुविधा चाडपर्व सुरु हुनुभन्दा १५ दिनअगाडि नै एक महिनाको तलब भत्ता दिनुपर्ने व्यवस्था गरिएको छ।विनियमावलीले कर्मचारीको उपदानका लागि सामाजिक सुरक्षा कोषमा तलव भत्ताको कम्तिमा ८.३३ प्रतिशत बराबरको रकम समाजिक सुरक्षा कोषमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
परिमार्जित विनियमावलीले प्रमुख कार्यकारी अधिकृतको हकमा भने सामाजिक सुरक्षाकोषमा दर्ता नभएसम्मको लागि बैंक तथा वित्तीय संस्थाले वैकल्पिक व्यवस्था गर्न सक्ने बाटो खोलिदिएको छ।
पाँच वर्ष वा सोभन्दा बढि सेवा गरेका स्थायी कर्मचारीले अवकाश पाएमा वा राजीनामा दिई सेवाबाट अलग भएमा काम गरिएको समयको प्रत्येक महिनाको आधा तलव गणना गरी उपदान दिनुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।