काठमाडौं- च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा बोरुसिया डर्टमुन्डसँग २–१ ले पराजित भएको पिएसजीले दोस्रो लेग २–० ले जितेर क्वाटरफाइनलमा स्थान बनायो। नेमार र बर्नाट भेलेस्कोले गोल गरे। तर गोलभन्दा खेलपछिको सेलिब्रेसनलाई लिएर चर्चा बढिरहेको छ।
नेमार, एमबाप्पेलगायत पिएसजीका खेलाडीहरुले जितपछि डर्टमुन्डका हल्यान्डको शैलीमा ‘ध्यान मुद्रा’मा बसेर सेलिब्रेसन गरे। पहिलो लेगमा पिएसजीलाई हराउँदा डर्टमुन्डका लागि दुवै गोल हल्यान्डले गरेका थिए। गोलपछिको उनको सेलिब्रेसन निकै चर्चामा रहेको थियो।
कोरोना भाइरसको डरका कारण पिएसजीको मैदानमा दर्शकबिना नै खेल गरिएको थियो। खेल सकिएपछि पिएसजीका खेलाडीहरु हल्यान्डको शैलीमा मैदानको एक छेउमा बसेका थिए। त्यसपछि पनि ड्रेसिङ रुममा पुगेर उनीहरुले हल्यान्डको शैलीको मजाक उडाए। जुन भिडियो इन्स्टाग्राममा समेत सेयर गरेका थिए।
मंगलबार बेलुका हल्यान्डले फ्रेन्च सहर आफ्नो सहर भएको भन्दै स्न्यापच्याटमा पोस्ट गरेका थिए। त्यसैलाई काउन्टर दिने शैलीमा नेमारले खेल जितेपछि इन्स्टाग्राममा पोस्ट गर्दै लेखे ‘पेरिस हाम्रो सहर हो, तिम्रो होइन।’
सामाजिक सञ्जालमा भएका यस्ता पोस्टहरुलाई केहीले रमाइलोका रुपमा मात्रै लिएका छन् भने केहीले भने विश्वस्तरीय खेलाडीको ‘कमजोर व्यवहार’ भएको भन्दै आलोचना गरेका छन्।
पूर्वफुटबलर ग्यारी लिनेकरले पिएसजीका खेलाडीको व्यवहार तल्लो स्तरको भएको भन्दै आलोचना गरेका छन्। केहीले एमबाप्पे र नेमार जस्ता खेलाडीलाई हल्यान्डसँग डर रहेको स्पष्ट भएको बताएका छन्।
नर्वेका १९ वर्षका हल्यान्ड साल्जबर्गबाट डर्टमुन्ड आएसँगै निकै राम्रो खेलिरहेका छन्। उनले डर्टमुन्डका लागि ११ खेलमा १२ गोल गरिसकेका छन्।
आफूलाई ध्यानमा विशेष चासो रहने हुनाले शान्त रहन त्यही मुद्रामा गोलको सेलिब्रेसन गरेको हल्यान्डको भनाइ छ। तर उनको त्यही शैलीलाई पिएसजीका खेलाडीले भने मजाक बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।