काठमाडौं- च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेग अन्तर्गत बुधबार राति पौने २ बजे इंग्लिस क्लब लिभरपुल र एथ्लेटिको मड्रिड साथै फ्रेन्च क्लब पिएसजी र जर्मन क्लब बोरुसिया डर्टमुन्टबीच खेल हुँदैछ।
कोरोना भाइरस संक्रमणको डर बढ्दै गएकाले पिएसजी र बोरुसिया डर्टमुन्डबीचको खेल हुने ४८ हजार दर्शक क्षमताको पिएसजीको घरेलु मैदान बुधबार राति खाली हुनेछ। लिभरपुल र एथ्लेटिको मड्रिडबीच खेल हुने लिभरपुलको मैदानमा भने दर्शकसहित खेल हुनेछ।
मंगलबार राति इंग्लिस क्लब टोटनह्यामलाई पराजित गर्दै जर्मन क्लब लिपजिग र स्पेनिस क्बल भ्यालेन्सियालाई पराजित गर्दै इटालियन क्लब एटलान्टा क्वाटरफाइनलमा पुगिसकेका छन्।
अन्तिम १६ को दोस्रो लेग अन्तर्गत अर्को हप्ता चार खेल हुनेछन्। जसमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल मड्रिड (पहिलो लेग २-१), इटालियन क्लब युभेन्टस र फ्रेन्च क्लब लायोन (पहिलो लेग ०-१), स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नापोली (पहिलो लेग १-१) साथै जर्मन क्लब बायर्न म्युनिख र इंग्लिस क्लब चेल्सी (पहिलो लेग ३-०) खेल्नेछन्।
लिभरपुल भर्सेस एथ्लेटिको मड्रिड (पहिलो लेग ०-१)
लिभरपुलले घरेलु मैदान एनफिल्डमा यसअघि युरोपियन प्रतिस्पर्धाको दुई खेलमा एथ्लेटिको मड्रिडसँग हारेको छैन। जसमा २००८-०९ को च्याम्पियन्स लिग समूह चरणको खेलमा १-१ को बराबरी गरेको थियो भने २००९-१० को युरोपा लिग सेमिफाइनलमा २-१ ले दोस्रो लेग जितेको थियो।
एथ्लेटिको मड्रिड भने युरोपियन प्रतिस्पर्धामा इंग्लिस क्लबसँग २००९-१० को युरोपा लिग सेमिफाइनलमा लिभरपुलसँग हारेपछि नै अपराजित छ। एथ्लेटिको मड्रिडले इंग्लिस क्लबविरुद्ध इंग्ल्याण्डमा खेलेका पछिल्लो १३ खेलमा दुई जित, सात बराबरी र चार खेल हारेको छ।
लिभरपुलका कप्तान जोर्डन हेन्डर्सन एथ्लेटिको मड्रिडविरुद्धको खेलका लागि ‘फिट’ देखिएका छन्। पहिलो लेगमा लिभरपुल एथ्लेटिको मड्रिडसँग १-० ले हार्दा हेन्डर्सन घाइते भएकाले मैदानबाहिर थिए। तर घाइते रहेका गोलकिपर एलिसन भने एथ्लेटिको मड्रिडविरुद्धको खेलमा हुने छैनन्।
लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले च्याम्पियन्स लिगमा घरेलु मैदानको खेल अहिलेसम्म हारेका छैनन्।
के भन्छन् प्रशिक्षक?
योर्गेन क्लोप (लिभरपुल) - अहिलेको अवस्था मध्यान्तरको हो। हामी अरु खेलमा मध्यान्तरलाई निकै राम्रोसँग उपयोग गर्छौं। हामीले पहिलो लेगबाट निकै कुराहरु सिकेका छौँ, केही अवसरहरु देखेका छौँ र अब हामीले अझ सुधार गर्ने नै छौँ। धेरै कुराहरु पहिलेभन्दा अहिले निकै स्पष्ट भएका छन्। हामी अगाडि बढ्न चाहन्छौँ र सक्छौँ भन्ने देखाउनु छ। तर एथ्लेटिको मड्रिविरुद्ध सजिलो भने छैन।
डिएगो सिमोन (एथ्लेटिको मड्रिड) - तपाईंहरुले पछिल्लो आठ वर्षमा हामीले के गर्न सक्छौँ भन्ने देख्नुभएको छ। लिभरपुलविरुद्ध कुनै अवस्थामा हामीलाई अप्ठ्यारो पर्ला तर हामीले आफूले पाएको अवसरहरुमा पनि राम्रो गर्नैपर्छ। योर्गेन क्लोप आएदेखि लिभरपुलको क्षमता बढेको सबैले देखेका छौँ। म प्रशिक्षकका रुपमा र खेलाडीका रुपमा पनि अहिलेसम्म एनफिल्ड पुगेको छैन, त्यहाँ नयाँ इतिहास बन्ने आश छ।
सम्भावित सुरुवाती ११
लिभरपुल - एड्रियन, एलेक्जेण्डर आर्नोल्ड, गोमेज, भ्यान डाइक, रोबर्टसन, हेन्डरसन, फाबिन्हो, विजनाल्डम, सलाह, फर्मिनो र माने।
एथ्लेटिको मड्रिड - ओब्लाक, ट्रिपियर, सेभिच, फिलिपे, रेनान लोडी, साउल निग्वेज, पार्टे, कोके, भिटोलो, योआओ फेलिक्स र कोरेरा।
पिएसजी भर्सेस बोरुसिया डर्टमुन्ट (पहिलो लेग १-२)
पिएसजीमा रहेको ४८ हजार दर्शक क्षमताको मैदान बुधबार रातिको खेलमा खाली हुनेछ। कोरोना भाइरस संक्रमणको डर बढ्दै जाँदा दर्शकबिनाको खेल गर्न लागिएको हो। खाली रंगशालामा दर्शकबिना खेल्नुपर्दा अनौठो अवस्था सिर्जना हुने पिएसजीका प्रशिक्षक थोमस टचेलले बताएका छन्।
पिएसजीले युरोपियन प्रतिस्पर्धामा बोरुसिया डर्टमुन्डलाई अहिलेसम्म हराएको छैन। दुई खेल बराबरी खेलेको छ भने एक खेल हारेको छ। यसअघि २०१० को युरोपा लिगमा पिएसजीको मैदानमा भेट हुँदा गोलरहित बराबरीमा खेल सकिएको थियो।
फ्रेन्च क्लबसँग च्याम्पियन्स लिगमा यसअघिका ६ अवे खेलमा बोरुसिया डर्टमुन्डले तीन खेल जितेको छ भने तीन खेल हारेको छ।
यस्तै च्याम्पियन्स लिग नकआउट चरणमा पहिलो लेग हारेपछि पिएसजी अहिलेसम्म अगाडि बढ्न सकेको छैन। तर बोरुसिया डर्टमुन्ड भने च्याम्पियन्स लिग नकआउट चरणमा पहिलो लेग जितेपछि हरेक पटक अर्को चरणमा पुगेको छ।
के भन्छन् प्रशिक्षक?
थोमस टचेल (पिएसजी) - हामीले १-० ले खेल जिते पनि पर्याप्त हुनेछ। तर हामी १-० ले जितेर अघि बढ्ने जस्तो टिम होइनौँ भन्ने मलाई लाग्छ। हामीहरु पोस्टमा आक्रमणमा बढेर नै खेल्नेछौँ र सक्दो गोल गर्नेछौँ। अन्तिमसम्म खेल हुँदा हामीले १-० ले जित्न सक्यौँ भने पनि म खुसी नै हुनेछु। तर हामी त्योभन्दा राम्रो गर्ने प्रयासमा हुनेछौँ। पहिलो लेगमा भन्दा अहिले हाम्रो अवस्था अलि राम्रो पनि छ।
लुसियन फाभ्रे (बोरुसिया डर्टमुन्ड) - हाम्रा लागि हरेक कुराको सम्भावना उत्तिकै छ, र मलाई लाग्छ हामी पेरिसमा पनि जित निकाल्न सक्नेछौँ। हामीले पहिलो लेग अझ ठूलो अन्तरमा जित्न सक्थ्यौँ जस्तो लाग्छ। अब पनि हाम्रो ‘टेक्निकल’ शैली र खेलमा जितको चाहना भएका खेलाडीका कारण राम्रो गर्नेछौँ। हामीले पछिल्लो खेलहरुमा निकै राम्रो गरिरहेका छौँ। बलमा नियन्त्रण बनाएर विपक्षीको पोस्टमा बढ्न सक्ने हाम्रो शैली राम्रो छ।
सम्भावित सुरुवाती ११
पिएसजी - नाभास, केहर, थियागो सिल्भा, किमपेम्बे, डि मारिया, माक्र्विनस, गुवे, नेमार, काभानी र एम्बाप्पे।
बोरुसिया डर्टमुन्ड - ब्रुकी, जागाडु, हमेल्स, पिस्चेक, हाकिमी, कान, विस्सेल, ग्युरेरियो, सान्चो, हल्यान्ड र ब्रान्ड्ट।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।