काठमाडौं- स्पेनिस ला लिगामा आउँदो दुई हप्ताका खेलाहरु बन्द रंगशालामा गर्ने निर्णयमा खेलाडीहरु असन्तुष्ट देखिएका छन्। दर्शकबिनाको खेलको कुनै महत्व नहुने भन्दै बन्द रंगशालामा हुने फुटबलको मतलब नरहेको उनीहरुको भनाइ छ।
कोरोना भाइरसको संक्रमणबाट सुरक्षा अपनाउन इटालीमा सबै खेलकुद गतिविधि बन्द भएका छन्, प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटीबीचको खेल स्थगित भएको छ, विश्वभर नै खेलकुदका अरु विभिन्न गतिविधि प्रभावित भएका छन्, युरो कप फुटबलदेखि ओलम्पिकसम्म अन्योलमा परेको छ।
ला लिगाका अध्यक्ष जेभियर टेबासले पनि आवश्यक परेमा र सरकारले भनेमा आफूहरु सबै खेल स्थगित गर्न तयार रहेको बताएका छन्। तर खेलाडीहरु भने बन्द रंगशालामा नै हुने खेलमा पनि असन्तुष्ट देखिएका छन्।
स्पेनमा फुटबलहरुको एक संस्था एएफइले भनेको छ- ‘दर्शक नहुनु भनेको जोखिम नहुनु होइन।’
एएफइले दर्शकबिना खेल गर्नुभन्दा जोखिमलाई हेरेर पनि खेलहरु स्थगित गर्नु नै राम्रो हुने सुझाव दिएको छ। ‘धेरै ठूलो जमघटहरु गर्न नहुने कुरा हामीले बुझेका छौँ। तर धेरै समयसम्म खेलहरु बन्द रंगशालामा हुनु भनेको राम्रो कुरा होइन। त्यसले खेलकुद प्रतियोगिताको मर्म नै मारिदिन्छ’ एएफइले उल्लेख गरेको छ।
बन्द रंगशालामा खेल हुनेबारे आइरहेका खबरपछि सेल्टाभिगोका खेलाडी डेनिस स्वारेजले भनेका छन्- ‘हामी खेल्ने दर्शकका लागि नै त हो, उनीहरुबिनाको खेलको केही महत्व होला र?’
एएफइको कुरामा समर्थन जनाउँदै रायो भालेकानोका मिडफिल्डर मारियो स्वारेजले पनि दर्शकबिनाको खेलको महत्व नहुने भन्दै भनेका छन्- ‘खेलहरुमा सहभागी भएको आधारमा मेरो धारणा के छ भने दर्शकबिना त खेलको खास कुनै महत्व रहँदैन। स्वास्थ्य नै पहिलो विषय हो तर पनि यदि अवस्था जटिल हो भने त खेलाडीहरु यात्रा गरेर अर्को रंगशाला जाँदा पनि समस्या आउन सक्छ त्यसैले खेल नै स्थगित गर्ने हो कि।’
प्रिमियर लिगमा म्यानचेस्टर सिटी र आर्सनलबीच बुधबार हुने भनिएको खेल स्थगित हुनुअघि म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले पनि दर्शकबिना खेल्नुको महत्व नरहेको बताएका थिए। ‘दर्शकबिनाको फुटबल होला त? यदि मानिसहरु खेल हेर्न आउन पाउँदैनन् भने त्यसको केही वास्ता रहँदैन, जे निर्देशन आउँछ त्यही गर्नैपर्छ तर मलाई दर्शकबिना खेल्न मन छैन।’
ओसासुनाले पनि खेलहरु स्थगित गर्नु नै राम्रो हुने भन्दै सामाजिक सञ्जालमार्फत लेखेको छ- ‘खेलहरु स्थगित गर्नु नै राम्रो हुन्छ जस्तो लाग्छ, तर क्लबले सरकारको निर्णय मानेर त्यहीअनुसार अगाडि बढ्नै पर्ने हुन्छ।’
रियल जारागोजाका प्रशिक्षक भिक्टर फर्नान्डेजले पनि बन्द रंगशालमा फुटबल गर्नु भनेको दर्शकको अपमान गर्नु भएको बताएका छन्। ‘पहिलो कुरा त फुटबल खेल एकअर्कासँग निकै नजिक भएर खेलिने खेल हुँदा कोरोना संक्रमणको खतरा मैदानमा नै पनि रहन्छ। अर्को कुरा फुटबल भनेको उत्साह हो त्यसमा दर्शक नहुँदा खल्लो हुन्छ, दर्शकको अपमान गरेजस्तो हुन्छ’ उनले भने।
यस्तै क्लबहरु रियल ओभिएडो, लस पाल्मस र डिपोर्टिभो ला कोरुनाले पनि आफ्ना खेलहरु स्थगित गरिदिन आग्रह गरेको छ। यी तीनै क्लब स्पेनिस फुटबलको दोस्रो डिभिजनका क्लबहरु हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।