काठमाडौं- नेपालमा तेक्वान्दो पछ्याउनेहरुका लागि क्वान योङ थालको नाम परिचय दिइरहनुपर्ने नाम होइन। उनले कोरियाको छुङनामबाट नेपाल आएर तेक्वान्दो सिकाउन थालेको पनि २२ वर्ष भइसक्यो। उस्तै उत्साहका साथ अहिले पनि लागिपरिरहेका छन्।
क्वान योङको नेपालसँगको सम्बन्ध यस्तो बनिसक्यो कि अहिले उनी कोरिया गएर नेपाल फर्कंदा आफ्नो ‘घर फर्केजस्तो’ महसुस गर्छन्। नेपाली माटोको मायामा औधि रमाएका छन्। यसैले मीठो गरी नेपाली भाषामै भन्छन्- ‘मलाई नेपालको सुन्दरता, खानपान र मानिसहरु निकै मन पर्छ।’
नेपालले तेक्वान्दोमा गरिरहेको सुधारहरु र पाएका उपलब्धीमा क्वान योङको सम्झना खेलाडीहरु मन फुकाएर गरिरहेका हुन्छन्। नेपाली तेक्वान्दोको अघिल्लो पुस्तादेखि अहिले नयाँ खेलाडीसम्म क्वानको तरिकासँग जानकार छन्।
क्वानसँग कुराकानीका लागि मंगलबार दिउँसो सातदोबाटो तेक्वान्दो हलमा भेट हुँदा पनि उनी ३० जना खेलाडीहरुको माझमा नै थिए। नेपालीमा नै निर्देशन दिँदै उनी हरेकलाई तेक्वान्दोको अन्तर्य शैली सिकाइरहेका थिए।
नेपालमा तल्लो तहदेखि खेलको विकास गर्न नसकेको जस्तो क्वानलाई लाग्छ। पढाइ र खेललाई सँगै लिएर जाँदा राम्रो हुने र खेललाई अनुशासनको माध्यम बनाउनुपर्ने उनको बुझाइ छ। यसैले तेक्वान्दो ‘फाइट खेल्न’ सिकाउने खेल नभइ ‘फाइट किन नखेल्ने’ भनेर सिकाउने अनुशासनको खेल र स्वस्थ बन्ने माध्यम भएको बताउँछन्।
उनै क्वानसँग नेपाली तेक्वान्दो, प्रशिक्षणसँगै उनको नेपाल बसाइलगायत विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ,
अहिले अभ्यास कस्तो भइरहेको छ?
१३औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता सकिएपछि हामीले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी गरिरहेका छौँ। साग खेलकुदमा राम्रो गरेका खेलाडी र नयाँ प्रतिभावान खेलाडीलाई समेटेर अभ्यास गरिरहेका छौँ। दैनिक दुई घण्टा अभ्यास भइरहेको छ। पछिको लागि अझ राम्रो गर्ने खेलाडीहरु हेरेका छौँ।
अभ्यासमा कति खेलाडी छन्?
गेरुगी (फाइट) र पुम्से (काता) का गरी ३० जना खेलाडी जति छन्। सिनियर मात्रै हैन जुनियर पनि थपिएका छन्। एसियन तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि जसले राम्रो गर्न सक्छ उनीहरुलाई बोलाएर अभ्यास गराइरहेका हौँ।
तपाईंले नेपालमा पहिले अभ्यास गराउँदा र अहिलेमा के फरक पाउनु भएको छ?
तेक्वान्दो खेल ओलम्पिकमा अफिसियल खेलको रुपमा छिरेपछि एकदमै रमाइलो हुनु पर्छ भन्ने पनि सोचेका छौँ। तेक्वान्दोमा धेरै नियमहरु पनि परिवर्तन भए। तेक्वान्दो खेल भनेको एकदमै स्वच्छ प्रतिस्पर्धा हुने हुनु पर्छ। रेफ्रिले आफूखुसी नम्बर दिने हुनु हुँदैन। त्यसैले सेन्सर प्रणालीको लागु गरिएको छ। योसँगै टेक्निकदेखि हरेक कुराको परिवर्तन भएको छ। त्यसले गर्दा पहिले र अहिलेमा अभ्यासको तरिका फेरिएको छ।
अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीको स्तर कस्तो छ? नेपाली खेलाडी चाहिँ कतिको प्रतिभावान छन्?
नेपाली खेलाडी पहिले चाहिँ राम्रो थियो। तर सेन्सर प्रणाली आएपछि त्यही अनुसारले नेपाली खेलाडीले राम्रो गर्न सकेनन्। यसको कारण पनि छ म भन्छु, सेन्सर प्रविधि निकै महँगो छ। गाउँगाउँमा यो सेन्सर प्रविधि खेलाडीले राख्न सक्दैनन्। त्यसैले उनीहरु पुरानै प्रविधिअनुसार अभ्यास गरिरहेका छन्।
सेन्सरमा तेक्वान्दो गइसकेपछि हरेक कुरा नयाँ छ। पुराना टेक्निक र नयाँ टेक्निक अलिक मिलाउन सकेनन्। स्थानीय स्तरमा सेन्सरको अभावमा खेलाडीले त्यहि अनुसारको अभ्यास गर्न पाइरहेका छैनन्।
नेपाल तेक्वान्दो संघले राष्ट्रिय खेलाडी छान्ने बेला सेन्सर प्रणालीमा रहेर प्रतियोगिता हुन्छ। तर गाउँ, जिल्लामा तेक्वान्दो प्रतियोगिता पुरानै प्रणालीमा हुन्छ। यसले गर्दा राम्रो खेलाडी भए पनि एक्कासी सेन्सरमा खेल्दा राम्रो खेल्न सकेनन्।
खेलाडी जीवनबाट प्रशिक्षक बन्नुभएको पनि ३० वर्ष भइसक्यो। अहिलेसम्म खेलमा धेरै परिवर्तन पनि आएका छन्। कस्तो महसुस हुन्छ? तपाईं खेल्दै गर्दाको कुनै याद आइराख्ने क्षणहरु छन्?
मैले तेक्वान्दो सिक्ने बेला धेरै दुःख पाएँ। सानो थिएँ। घरबाट अभ्यास गर्ने ठाउँ धेरै टाढा थियो। रातिराति एक्लै एक्लै हिँड्नु पर्थ्यो।
छुट्टी हुँदैन थियो। जाडो मौसम होस् या गर्मी दिनदिनै अभ्यास गर्नु पर्थ्यो। हामी कोरियन खेलाडीको लागि खेल मात्र पर्याप्त थिएन। अनिवार्य पढ्नु पर्थ्यो। त्यहि भएर पढ्ने र खेल्ने गर्दा खेलाडी जीवन निकै व्यस्त थियो।
त्यो बेला म १० वर्ष भन्दा कम उमेरको थिएँ। अभ्यास सकेर ९ बजे राति घर एक्लै जाँदा धेरै डराएको थिएँ। एक घण्टा हिँडेर जानु पर्थ्यो। यो एक दिन, दुई दिन होइन, दिनदिनै जानु पर्थ्यो। धेरै गाह्रो थियो। त्यो कुराहरु अहिले याद आउँछ। पछि एक-दुई जना साथीहरु पनि थिए तर धेरै समय त एक्लै थिएँ।
तेक्वान्दो खेलमा कसरी आबद्ध हुनु भयो?
मेरो दाइहरु हाइस्कूल पढ्दा तेक्वान्दो खेल्नुहुन्थ्यो। दाइहरुले खेलेको देख्दा मलाई पनि खेल्न मन लाग्यो। त्यहि भएर मैले आमाबाबालाई तेक्वान्दो डोजाङमा राखिदिनु भने। त्यसपछि मैले तेक्वान्दो निरन्तर खेल्दै आएँ।
नेपालसँग कसरी जोडिनु भयो? लामो समयदेखि प्रशिक्षण गराइरहनु भएको छ। कसरी मिल्यो यो अवसर?
कोरियामा हामीले तेक्वान्दो विकासका लागि काम गर्ने भन्ने कुरा थियो। त्यसका लागि अन्य देशमा प्रशिक्षक जान गाह्रो थियो। त्यहाँबाट नेपालमा भने मलाई पठाउने कुरा भयो।
म १९९८ मा म नेपाल आएको थिएँ। त्यसबेलादेखि निरन्तर म नेपालमा छु। सुरुमा प्रहरी तालिम केन्द्रमा प्रशिक्षण सुरु गराएँ। प्रहरीका खेलाडीलाई अभ्यास गराउनेदेखि नेपालको राष्ट्रिय खेलाडीहरुलाई अभ्यास गराउने काम गरेँ। साग खेलकुद, ओलम्पिक, एसियन खेलकुद लगायत धेरै प्रतियोगितामा अभ्यास गराउँदै आएँ।
आफ्नो समयमा दीपक विष्ट, संगिना बैद्य जस्ता खेलाडीले त तेक्वान्दोमा निकै राम्रो गरेका थिए। आफूले सिकाएका खेलाडीले राम्रो गर्दा कस्तो लाग्दो रहेछ?
धेरै खुसी लाग्छ। तर उनीहरुले खेल्ने बेलामा धेरै दुःख गरेका थिए। त्यो बेलामा अहिले जस्तो पनि थिएन। अभ्यास गर्ने ठाउँ राम्रो थिएन। खानपानसम्मको व्यवस्था राम्रो हुँदैन थियो। उनीहरुले दुःख गरे अनुसारको फल पाएको हो। नेपालमा मात्र होइन बाहिर अभ्यास गर्दा पनि उनीहरुले निकै दुःख गरेका हुन्।
तपाईंले नेपाली भाषामा सरर बोल्न सक्नु हु्न्छ। कोरियाबाट आएर नेपाली बोल्दा यहाँका मान्छेहरु पनि खुसी मान्छन्। नेपाली भाषा चाहिँ कसरी सिक्नु भयो?
कोरियाबाट प्रशिक्षक नेपाल जाने भनेपछि त्यहाँको मन्त्रीले नै यहाँको एकजनालाई नेपाली भाषा शिक्षकका रुपमा कोरिया लग्नुभएको थियो। नेपाल जाने प्रशिक्षकहरुका लागि उहाँले भाषा सिकाउनु भएको थियो। कोरियामा नै बसेर दुई महिना नेपाली भाषा सिकेँ। त्यसपछि नेपाल आएँ। कोरिया युनिभर्सिटी पढेका एक जना गुरु हुनुहुन्थ्यो। उहाँले पनि मलाई सिकाउनु भयो। उहाँ कोरियन भाषा पनि राम्ररी बोल्नुहुन्थ्यो त्यसैले उहाँसँग नेपाली सिक्न सजिलो भयो।
नेपाली भाषा सिक्दा गाह्रो भयो कि सुरुमा?
त्यस्तो गाह्रो छैन। अंग्रेजी जस्तो उल्टो चाहिँ छैन। कोरियन भाषा र नेपाली भाषाको व्याकरण उस्तै लाग्यो। त्यसैले सजिलो भयो। नेपालीलाई पनि कोरियन भाषा सिक्न सजिलो हुन्छ होला नि होइन?
तपाईंलाई अंग्रेजी सजिलो कि नेपाली भाषा?
हामीलाई अंग्रेजी भाषा उल्टो लाग्छ। तर नेपाली भाषासँग कोरियन मिल्दो जुल्दो छ। त्यहि भएर सजिलो नै भयो नेपाली भाषा।
बाटोमा हिँड्दा नेपालीहरु मलाई ठाउँहरु सोधिरहेका हुन्छन्। म नेपाली जस्तै देखिन्छु नि त। त्यसैले सोध्नुभएको होला, अनि म बताइदिन्छु।
नेपाल बसाइ चाहिँ कस्तो भइरहेको छ? यहाँको खानपान, वातावरण अनि तपाईंलाई यहाँ बस्दा परेको कठिनाइ तथा सहजता केही छ?
मलाई नेपालको मौसम धेरै मन पर्छ। त्यस्तै यहाँको सुन्दरता धेरै मन पर्छ। अनि यहाँका सँस्कृति, चालचलन, मान्छेहरुले गर्ने व्यवहार निकै राम्रो छ। खानेकुरा पनि मन पर्छ। हप्तामा दुईपटक म नेपाली खाना खान्छु। मेरो परिवार र बच्चालाई पनि नेपाली खाना निकै मन पर्छ।
नेपाल बस्न त्यति गाह्रो छैन। तर पहिले चाहिँ पानी, बिजुली लगायतका समस्याले निकै गाह्रो भएको थियो। बच्चा सानो छँदा त्यस्तो समस्या भयो। दुई जना बच्चा छन्। निकै ठूला छन्। यो जुलाईबाट उनीहरु युनिभर्सिटी पढ्न जान्छन्। मेरो बच्चाहरु यहि नेपालमै जन्मेको हो। हामी सबै परिवार यहाँ नै छौँ।
तपाईं सन् १९९८ मा नेपाल आउँदा देखेको नेपाल र अहिलेको नेपालमा के फरक पाउनु हुन्छ?
पहिले त्यति गाडीहरु पनि थिएन। काठमाडौं मान्छे पनि धेरै थिएन। शान्त थियो काठमाडौं, सफा थियो। तर अहिले गाडी र मान्छेले काठमाडौं पूरै भरिएको छ। अहिले धुलो धुँवा प्रदुषण धेरै छ। अहिले धेरै जाम हुन्छ पहिले यस्तो हुँदैन थियो।
तपाईंलाई पहिलेको नेपाल राम्रो कि अहिलेको त?
पहिलेको नेपाल राम्रो। हा.हा.हा.. अहिले त अफिस जान पनि गाह्रो छ जाम परेर। प्रदुषण त निकै बढ्यो।
अब तेक्वान्दोको नै कुरा गरौँ, दक्षिण एसियामा नेपाली तेक्वान्दो राम्रो नै छ। तर एसियन र ओलम्पिक खेलकुदमा पनि राम्रो गर्न नेपाली खेलाडीमा के के कुरामा सुधार गर्नु पर्छ?
अन्तर्राष्ट्रिय स्तरमा राम्रो नतिजा ल्याउनका लागि हामीले पनि राम्रो तयारी गर्नु नै पर्छ। धेरै जसो खेलाडी डोजाङबाट खेलेका खेलाडी छन्। त्यसले गर्दा हामीमा तेक्वान्दोको ‘बेसिक’ कमजोर छ। प्रदेश तथा जिल्लाहरुमा २-३ वटा एकेडेमी राख्नु पर्छ। त्यसपछि उनीहरु खेल्दै जान्छन्। उनीहरुलाई पढाउने र खेलाउने सँगै गर्नुपर्छ। त्यसो गर्न सकेमा खेलमा सुधार हुन्छ।
गाउँमा, स्कुलमा तेक्वान्दोका स्पेसल टिम राक्यो भने राम्रा खेलाडी निस्किन्छन्। तल्लो स्तरदेखि नै खेलाडीलाई बेसिक बलियो बनाउनु पर्छ।
अन्य देशमा स्कुल, युनिभर्सिटीदेखि नै खेलाडीलाई बलियो बनाउँदै लगेको हुन्छ। तर नेपालमा त्यस्तो छैन। यहाँ चाहिँ डोजाङबाट सिधै राष्ट्रिय टिममा आउँछन्। जसले गर्दा नेपाली खेलाडीमा बेसिकदेखि अन्य टेक्निकमा कमजोर हुन्छ। तल्लो तहदेखि नै राम्ररी पढाउने र खेलाउने सँगै गर्दै लैजानुपर्छ। यहाँ खेलाडीले प्रतियोगिता खेल्ने अवसर पनि धेरै पाउँदैनन्।
पुलिस एकेडेमीमा तपाईंको काम चाहिँ कस्तो छ?
पुलिसमा चाहिँ सिस्टम छ। गाउँ गाउँबाट अभ्यासको लागि आउँछ। बेसिकदेखि ब्लाक बेल्टसम्म उनीहरु अभ्यासमा आउँछन्। पुम्से र गेरुगी टिम गरी अभ्यास गरिरहेको छ। प्रशिक्षकहरुलाई पनि अभ्यास गराउने काम हुन्छ।
तपाईं काठमाडौंबाहिर पनि घुम्नु भएको छ?
हजुर धेरै घुमेको छु। खेलाडीको अभ्यास र रेफ्रिका लागि सेमिनार लगायतमा म प्रदेश एक देखि सात नम्बरसम्म तीन महिनाअघि घुमेर आएँ।
नेपालमा ठाउँ अनुसार मान्छे फरक फरक छन्। मौसम पनि फरक छ। संस्कृति उस्तै फरक छ। खाननपान सबै फरक छ। हिमालदेखि तराईसम्म हरेक ठाउँ फरक छ। त्यसैले मलाई जहाँ जाँदा पनि असाध्यै मन पर्छ।
कोरिया र यहाँको वातावरणमा के फरक छ?
उस्तै उस्तै हो। कोरियाको संस्कृति र यहाँको संस्कृति समान लाग्छ। त्यसैले पनि होला मलाई यहाँ बस्न सजिलै भयो।
कोरियामा वर्षमा २-३ पटक जान्छु। अभ्यासको लागि, सेमिनारको लागि, प्रतियोगिताको लागि म उता पनि जान्छु। बेला बेला बोलाइरहेको हुन्छ।
अँ.. कोरियाबाट नेपाल फर्किंदा आफ्नो घर आएको जस्तो हुन्छ।
कोरिया जाँदा मेरो साथीहरु, दाजुभाइहरुसँग भेट्न किनै गाह्रो हुन्छ। तर आमाबाबुसँग चाहिँ भेटेर फर्किन्छु।
तपाईंको श्रीमती र छोराछोरी खुसी हुनुहुन्छ नेपाल बसाईंमा ?
खुसी नै छन् होला। हा..हा...। उनीहरु कोरियामा बसेका छैनन्। नेपालमा मात्र बसेका छन्। अरु देशमा बस्न पाएका छैनन्, त्यही भएर मलाई थाहा नै छैन। तर उनीहरु यहाँ खुसी छन्। मेरो परिवारले पनि नेपाल धेरै मन पराउँछन्।
तेक्वान्दोमा लागेर सन्तुष्ट हुनुहुन्छ? केही कमि महसुस त हुँदैन?
एकदम सन्तुष्ट छु। पछि म तेक्वान्दो प्रशिक्षक हुन्छु भनेर खेलेको होइन। तेक्वान्दो मेरो रुची हो। मन लागेर खेलेँ। तेक्वान्दो खेल्दा मेरो जिन्दगी धेरै राम्रो भएको हो। मैले तेक्वान्दोबाट हरेक कुरा पाएको छु। सानोमा गरेको मेहेनतको प्रतिफल पाएको जस्तो लागछ। आदर गर्ने र माया गर्ने कुरा पनि तेक्वान्दोले नै सिकाएको हो। अब अझै राम्रो गर्दै जाने छु। तेक्वान्दो मेरो परिवार हो। यसमै रमाउँछु। मैले सिकाएका मान्छेहरु पनि तेक्वान्दोमा लागेर खुसी भए भने म पनि खुसी हुनेछु।
तपाईंलाई भन्न मन भएका केही कुरा सोध्न बिर्सियौँ कि?
अहिलेसम्म मलाई सबैले सहयोग गर्नुभएको छ। सहयोग गरिदिनुहुने सबैलाई धेरै धेरै धन्यवाद भन्छु।
तेक्वान्दोमा नै आउन चाहनेहरुका लागि,
मैले बच्चादेखि तेक्वान्दो सिक्दा धेरै राम्रो भएको हो। मेरो बच्चाहरुलाई पनि तेक्वान्दो सिक्नु पर्छ है भन्छु। सिकेका पनि छन्। नेपाली आमाबुबा चाहिँ तेक्वान्दोमा बच्चालाई सिकाउन चाहँदैनन्। डराउँछन् जस्तो लाग्छ। तेक्वान्दो भनेको नियम सिक्ने हो। अनुशासनको पालना गर्न तेक्वान्दो सिकाउने हो। स्वस्थ हुनु हो। तेक्वान्दो सिक्ने फाइट खेल्न होइन। बरु किन पिट्नु हुँदैन, त्यो तेक्वान्दोले सिकाउँछ।
भिडियोमा हेर्नुहोस् क्वान योङका कुरा,
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।