काठमाडौं- कोरानाको सन्त्रास बढेसँगै आन्तरिक हवाई उड्डयनका क्षेत्रमा संकट उत्पन्न हुने अवस्था आएको छ। यस वर्ष फेब्रुअरी महिनासम्म खासै प्रभाव नपरेको आन्तरिक उडानमा एक सातामै संकट उत्पन्न हुने अवस्था आएको निजी हवाई सेवा सञ्चालकहरुको छाता संगठन हवाई सेवा सञ्चालन संघका प्रवक्ता योगेन्द्रराज कँडेलले जानकारी दिए।
आन्तरिक उडानतर्फ 'फिक्स विङ'तर्फ एक/दुई दिनमै यात्रुको संख्यामा ७० देखि ८० प्रतिशत कमी आएको जानकारी कँडेलले दिए। उड्डयन क्षेत्रमा समस्या देखिएपछि संघले बुधबार (भोलि) विशेष बैठक राखेको समेत उनले बताए। उनका अनुसार हेलिकोप्टर उडानमा ९० प्रतिशतभन्दा बढीले कमी आएको छ।
अहिले ४ दर्जनको हाराहारीमा हेलिकोप्टर उडान भइरहेको छन् भने आन्तरिक उडान भर्ने वायुयान पनि पाँच दर्जनको हाराहारीमा रहेका छन्। तर, यात्रु संख्या भने ह्वातै घटेको उनको भनाइ छ।
यात्रु संख्या घटेसँगै एयरलाइन्स कम्पनीले बुधबारदेखि उडान संख्या पनि कटौती गर्ने तयारी गरेको श्री एयरलाइन्सका बजार व्यवस्थापक अनिल मानन्धरले बताए।
अहिले आन्तरिक उडानमा बुद्ध, यती, श्री, सिम्रिक, तारा, समिट, सीता र सौर्यले सेवा प्रवाह दिँदै आएका थिए।
यात्रुको संख्या घटेसँगै आन्तरिकतर्फको यात्रु आगमन कक्ष र प्रस्थान कक्षमा पनि सुनासान जस्तै भएको सिम्रिक एयरलाइन्सका बजार व्यवस्थापक प्रज्जव थापाले जानकारी दिए।
दुई महिनाको यात्रु र उडान विवरण

उडान र यात्रुको अवस्था
सन् २०१९ को जनवरीका तुलनामा यो वर्षको जनवरी महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तर्फका उडान संख्या ६ हजार ७ सय ५८ बाट ६ हजार ५ सय ५३ भएको (३.०३ प्रतिशतले घटेको) छ। सोही अवधिमा यात्रुको संख्या २ लाख ४४ हजार १ सय ३१ बाट बढेर २ लाख ६६ हजार १ सय ३७ भएको (९.०१ प्रतिशतले बढेको) छ।
यसैगरी, गत वर्षको फ्रेब्रुअरीका तुलनामा यो वर्ष फ्रेब्रुअरीमा आन्तरिक उडानको संख्या ६ हजार ३ सय ७३ बाट ६ सय ८ सय ७४ भएको (७.८६ प्रतिशतले बढेको) छ। यसका साथै यात्रुको संख्या २ लाख २६ हजार २ सय ३० बाट २ लाख ६२ हजार ३ सय ९५ भएको (१५.९९ प्रतिशतले बढेको) छ। तर, मार्च लागेसँग यो संख्यामा ह्वातै कमी आएको विमानस्थल कार्यालयको भनाइ छ।
अर्कोतर्फ गत वर्षको जनवरीको तुलनामा यो वर्षको फ्रेब्रुअरी महिनामा आन्तरिक उडानको संख्या ६ हजार ७ सय ५८ बाट घटेर ६ हजार ५ सय ५३ भएको (५.७० प्रतिशतले घटेको)छ। गत वर्षको फेब्रुअरीको तुलनामा २०२० को फ्रेब्रुअरीमा आन्तरिक उडानको संख्या ६ हजार ५ सय ५३ बाट बढेर ६ हजार ८ सय ७४ भएको (४.९० प्रतिशतले बढेको) छ तर यात्रुको संख्या २ लाख ६६ हजार १ सय ३७ बाट घटेर २ लाख ६२ हजार ३ सय ९५ भएको (१.४१ प्रतिशतले घटेको) छ।
अहिले आन्तरिकतर्फ दैनिक ३ सय उडान भइरहेको अवस्था विस्तार बुधबारबाट उडान संख्यामा पनि कमी आउने वायुसेवा सञ्चालकहरूको भनाइ छ।
वायुसेवा सञ्चालहरू समस्या आउने भएसँगै सरकारसँग छुट र अनुदान समेत माग समेत अगाडि बढाइरहेको छन्। साथै कर्मचारीको तलब घटाउने र कटौती समेत गर्ने निर्णय गरिसकेको छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।