काठमाडाैं- वायुसेवा सञ्चालक संघकाे बैठकले सरकारसँग अनुदान र छुट माग गरेकाे छ। संघका सञ्चालकहरुकाे बिहीबार बसेकाे बैठकले काेराेना भाइरसका कारण हवाई सेवा पनि प्रभावित भएकाे भन्दै हवाई इन्धनमा सरकारले लगाउँदै आएको मूल्य अभिवृद्धि कर हटाउन र हवाई इन्धनमा कम्तिमा ३० प्रतिशत मूल्य घटाउनुपर्ने माग अघि सारेकाे हाे।
अमेरिकी डलरमा लिईएको ऋण रकमको साँवा र व्याजलाई नेपाली रुपैयाँमा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाउनु पर्ने, वायुयानहरुको बीमा शुल्कमा लाग्दै आएको मूल्य अभिवृद्धि करमा पूर्ण छुट दिई विदेशी पूनर्बीमा कम्पनीहरुले स्वीकारेको अवस्थामा विदेशी पूनर्विमा कम्पनीहरुले दिएको क्रेडिट पिरियड अनुसार विमा शुल्क भुक्तानी गर्न सकिने व्यवस्था हुनु पर्ने, नेपाल आयल निगमले माग्दै आएको नगद धरौटीको सट्टा बैंक ग्यारेण्टीलाई मान्यता प्रदान गरी कम्तिमा एक महिनाको क्रेडिट पिरियडपछि भुक्तानी लिने व्यवस्था हुनुपर्ने, ईन्जिनलगायत वायुयानका केही सीमित पाटपुर्जाहरुमा दिइँदै आएको मूल्य अभिवृद्धि कर छुट वायुयानका सम्पूर्ण पाटपुर्जामा समेत उपलब्ध हुनुपर्ने तथा वायुयानको अवतरण, विसान तथा एयर नेभिगेशन शुल्कमा वर्ष २०२० भरि शतप्रतिशत छुट दिनुपर्ने सुझावहरु दिएकाे संघले जनाएकाे छ।


चीन, हङकङ, काेरिया, थाइल्याण्याड, भारतलगायतका देशमा काेराेना भाइरसकाे प्रकोप देखिएकोले आउँदा दिनमा बुकिङ्ग रद्द हुने क्रम झन् बढेर जाने र यसले कम्तिमा ६ महिनासम्म व्यवसायमा प्रत्यक्ष प्रभाव पार्ने देखिएकाे बताइएकाे छ। सञ्चालकहरुको बैठकले सम्पूर्ण खर्चमा मितव्ययीता अपनाउने, अहिले भएको वायुयानको संख्याअनुसार माग नहुने अवस्थामा सबै वायुसेवा कम्पनीहरुले समानुपातिक रुपमा जहाजहरु ग्राउण्ड गर्ने, सेवासुविधा कटाैती गर्ने, स्टाफलाई बिदामा जान प्राेत्साहित गर्ने लगायतका निर्णय पनि गरेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।