काठमाडौं- एल क्लासिकोमा गएको हप्ता बार्सिलोनालाई पराजित गरेपछि धेरैको आँकलन थियो अब रियल मड्रिडलाई ला लिगा जित्न सहज हुनेछ। तर आइतबार राति रियल बेटिससँग २–१ ले हारेसँगै रियल मड्रिड आफ्नो शीर्ष स्थान गुमाएको छ।
रियल बेटिसले ४०औँ मिनेटमा डा सिल्भा जुनियरको गोलमा अग्रता बनाएको थियो। त्यसको ७ मिनेटपछि नै पाएको पेनाल्टीमा रियल मड्रिडका लागि करिम बेन्जेमाले बराबरी गोल गरे। खेलभर राम्रा अवसर खेर फालिरहेको रियल बेटिसका लागि क्रिष्टियन टेलोले ८२औँ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए।
शनिबार राति बार्सिलोनाले रियल सोसिडाडलाई १–० ले हराउँदै रियल मड्रिडसँग दुई अंकको अग्रता बनाएको थियो। बेटिसविरुद्धको हारले रियल मड्रिड त्यही ५६ अंकमा नै रोकियो। बार्सिलोनाको ५८ अंक छ।
आफूहरुको यो सिजनकै सबैभन्दा खराब खेल रहेको भन्दै रियल मड्रिड प्रशिक्षक जिनेदिने जिदान भन्छन्– ‘यो अहिलेसम्मकै खराब खेल हो। हामी हरेक कुरामा कमजोर देखियौँ। यस्तो खराब खेलको जिम्मेवार म पनि हुँ।’
लिगमा अब रियल मड्रिड र बार्सिलोना दुवै टिमको ११-११ खेल बाँकी छ। अंक भिन्नता थोरै रहेकाले दुवै टिमलाई सामान्य गल्ती गर्ने छुटसमेत रहने छैन।
रियल मड्रिडले अब इबर, भ्यालेन्सिया, रियल सोसिडाड, मालोर्का, स्पानियोल, गेटाफे, एथ्लेटिको बिल्बाओ, अलाभेस, ग्रानडा, भिलारियल र लेगानेससँग खेल्न बाँकी छ। जसमा रियल मड्रिडको ६ खेल घरेलु मैदानमा हुनेछ भने ५ खेल अवे मैदानमा हुनेछ।
बार्सिलोनाले मालोर्का, लेगानेस, सेभिया, एथ्लेटिको बिल्बाओ, सेल्टा, एथ्लेटिको मड्रिड, भिलारियल, स्पानियोल, भायाडोलिड, ओसासुना र अलाभेससँग खेल्न बाँकी छ। जसमा बार्सिलोनाको पाँच खेल घरेलु मैदानमा र ६ खेल अवे मैदानमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।