काठमाडौं- इटालियन लिग फुटबल सिरि ए अन्तर्गत आइतबार राति इन्टर मिलानविरुद्धको खेल युभेन्टसका क्रिष्टियानो रोनाल्डोको एक हजारौँ खेल थियो। तर विश्वभर खतरा देखिएको कोरोना विषाणुबाट सुरक्षा अपनाउन खेल बन्द स्टेडियममा खेलियो।
इटालियन फुटबलमा सबैभन्दा महत्वपूर्ण भिडन्त मानिने र उल्लेख्य दर्शक आउने खेल बन्द रंगशालामा निरश देखिएको थियो। अब इटालीमा अप्रिल ३ सम्मका खेलहरु बन्द रंगशालामा नै हुनेछन्। इटालीमा कोरोना विषाणुका कारण ३ सय ६६ व्यक्तिको ज्यान गइसकेको छ भने ७ हजारभन्दा बढीमा संक्रमण देखिएको छ।
इन्टर मिलानविरुद्ध आरोन राम्से र पाउलो डिबालाले गोल गरे। जसले अंक तालिकामा युभेन्टस लाजियोभन्दा एक अंक माथि उक्लियो। राम्सेले खेलको ५४औँ मिनेटमा साथै डिबालाले खेलको ६७औँ मिनेटमा गोल गरेका थिए।
इन्टर मिलानविरुद्धको खेल स्टार स्ट्राइकर रोनाल्डोको एक हजारौँ अफिसियल खेल पनि हो। रोनाल्डोको पहिलो अफिसियल खेल पनि इन्टर मिलानविरुद्ध नै थियो। उनी स्पोर्टिङ सिपीमा रहँदा २००२ मा च्याम्पियन्स लिग छनोटमा इन्टर मिलानविरुद्ध नै खेलेर फुटबलको आधिकारिक प्रतियोगिता सुरु गरेका थिए।
रोनाल्डो युभेन्टस आएदेखि उनले ७५ खेल खेलिसकेका छन्। २००९ देखि २०१८ सम्म रियल मड्रिडमा रहँदा उनले ४ सय ३८ खेल खेलेका थिए। त्यसअघि म्यानचेस्टर युनाइटेडमा रहँदा उनले २ सय ९२ खेल खेलेका थिए। स्पोर्टिङ लिस्बोनमा रहँदा उनले ३० खेल खेलेका थिए। पोर्चुगलबाट उनले १ सय ६४ खेल खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।