काठमाडौं- इंग्लिस प्रिमियर लिगमा यो सिजन लिभरपुल विजेता हुने पक्का छ। अवस्था यस्तो आएको छ कि लिभरपुल अब एक खेल पनि नखेली विजेता बन्न सक्छ। तर कहिले?
लिभरपुलले प्रिमियर लिग खेलमा शनिबार राति ब्रोनमाउथलाई २–१ ले हरायो। अर्को खेल चैत ३ गते सोमबार राति इभर्टनसँग खेल्दैछ। तर इभर्टनसँगको खेलअघि नै लिभरपुल ३० वर्षपछि लिग विजेता हुनसक्छ। तर त्यसका लागि लिगमा अहिले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार तीन खेल हार्नुपर्छ।
यसैले प्रशिक्षक योर्गेन क्लोपको टिम लिभरपुलको यो समीकरणमा म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाको योजना जोडिएको छ। म्यानचेस्टर सिटीले आज राति म्यानचेस्टर युनाइटेडविरुद्ध युनाइटेडकै मैदानमा खेल्दैछ। आउँदो बिहीबार राति आर्सनलविरुद्ध र शनिबार ब्रन्ली एफसीविरुद्ध खेल्दैछ।
यदि म्यानचेस्टर सिटीले यी तीनै खेलमा हारेमा लिभरपुल इभर्टनसँगको खेलअघि नै विजेता हुनेछ। यदि म्यानचेस्टर सिटीले आउँदो तीनै खेल जितेमा पनि लिभरपुललाई विजेता बन्नका लागि बाँकी नौं खेलबाट नौं अंक मात्र भए पुग्छ। त्यसका लागि अरु टिमा निर्भर नभइ नै लिभरपुलले आउँदो तीन खेल जितेमा पनि विजेता बन्नेछ।
आउँदो तीन खेलको जितले लिभरपुल ९१ अंकमा पुग्नेछ, जहाँ म्यानचेस्टर सिटीले बाँकी ११ खेल नै जितेपनि ९० अंकमा मात्र पुग्न सक्छ। म्यानचेस्टर सिटीको अहिले २७ खेलमा ५७ अंक छ भने लिभरपुलको २९ खेलमा ८२ अंक छ। लिभरपुलको अबको तेस्रो खेल आउँदो चैत २३ गते म्यानचेस्टर सिटीविरुद्ध नै छ। यसैले लिभपुल म्यानचेस्टर सिटीविरुद्धको महत्वपूर्ण खेलपछि विजेता बन्न सक्छ।
चैत ३ गते हुने इभर्टनसँगको खेलबाट पनि लिभरपुल विजेता बन्न सक्छ, त्यसका लागि म्यानचेस्टर सिटीले आउँदो तीन खेलमा दुई खेल हार्नुपर्छ। त्यसो भएमा लिभरपुलले घरेलु मैदानमा आफ्ना दर्शकका अघि उपाधि उचाल्नेछ।
म्यानचेस्टर सिटीको आउँदो तीन खेलमध्ये दुई खेलमा हार र लिभरपुलले इभर्टनलाई हराएमा २५ अंकको भिन्नता हुनेछ। र सिटीले बाँकी सबै खेल जितेमा पनि २४ भन्दा ज्यादा अंक जोड्न सक्ने समीकरण रहँदैन।
सबैभन्दा छिटो प्रिमियर लिग जितेको कीर्तिमान म्यानचेस्टर युनाइटेडको छ। सर एलेक्स फर्गुसन प्रशिक्षक रहँदा सन् २०००–०१ मा म्यानचेस्टर युनाइटेडले १४ अप्रिलमा नै उपाधि जितेको थियो। मितिका आधारमा नभइ बाँकी रहेको खेलका आधारमा हेर्दा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीको बराबरी देखिन्छ। २०००–०१ को सिजनमा युनाइटेडले र २०१७–१८ को सिजनमा सिटीले पाँच खेल बाँकी रहँदै लिग जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।